आउँदो वैशाख ३० गते हुने पालिका चुनावका लागि हिजो आइतवार र आज साेमवार मनोनयन दर्ता भएको छ । हिजो धेरैजसो साना दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराएकाले निर्वाचन अधिकृतको कार्यालयमा कम चाप रहेकोमा आज दिनभर भिडभाड रहेको छ । मनोनयन दर्ता गराउने समय सकिएको र विवरण तयार पार्ने काम भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
काठमाण्डौ महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदमा नेपाली कांग्रेसकी नेतृ सृजना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै काठमाण्डौमा नेकपा एमालेको तर्फबाट मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डङ्गोलले उम्मेदवारी दर्ता गराउनुभएको छ । राप्रपाको तर्फबाट कलाकार मदनदास श्रेष्ठले उम्मेदवारी दिनुभएको छ ।
ललितपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन र उपमेयरमा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यले मनोनयन दर्ता गराउनुभएको छ । ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले मनोनयन दर्ता गराउनुभएको छ ।
पोखरा महानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले मनोनयन दर्ता गर्नुभएको छ । पोखरामा कांग्रेस नेता ऋषिराम सापकोटाले पनि स्वतन्त्र रूपमा मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै नेकपा एमालेका तर्फबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै नेपाली कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद जगन्नाथ पौडेलले पनि भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । भरतपुरमा एमाले र राप्रपाले तालमेल गरेका छन् । दुई दलको तर्फबाट मेयरमा एमालेका विजय सुवेदी र उपमेयरमा राप्रपाका हिमला गुरुङले मनोनयन दर्ता गराउनुभएको छ ।
विराटनगर महानगरपालिकमा पाँच दलीय गठबन्धनबाट मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा जसपाका अमरेन्द्र यादवले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीले मनोनयन दर्ता गराउनुभएको छ ।
वीरगञ्ज महानरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट मेयरमा जसपाका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलमले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै वीरगञ्जमा नेकपा एमालेको तर्फबाट मेयरमा विजय सरावगीले मनोनयन दर्ता गर्नुभएको छ । वीरगञ्जमा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीले तालमेल गरेका छन् । उपमयेरमा लोसपाका पुरुषोत्तम झाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
भोलि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । वैशाख १४ गतेदेखि १५ गते बेलुकी ५ बजेसम्म मनोनयन पत्र जाँच गर्ने र उजुरीमाथि जाँच गरी निर्णय गरिनेछ । १५ गते बेलुकी ५ बजेदेखि ६ बजेसम्ममा मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्नेछ । १६ गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिने समय तोकिएको छ । १६ गते नै बेलुकी ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । १७ गते बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ ।
प्रतिक्रिया