×

लक्ष्मीपूजा पनि आजै,यसरी गरौं घर-घरमा स्वागत

images

काठमाडौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा । आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । यो पटक कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोका स्थानमा मैनबत्ती बाल्ने प्रचलन  बढ्न थालेको छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजाराधना गरिन्छ ।

लक्ष्मीपूजापछि कन्या र छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको थियो । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको बतायिन्छ   ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी  दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मीपूजाका अवसरमा आज शहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्परानुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलनसमेत छ । 

प्रमुख रात्रीमध्ये एक हो आजको रात । आजको दिन लक्ष्मी माताको बास होस् भनेर घरको आगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरेको कोठासम्म लिपपोत गरी चामलको पिठो र अबिरले लक्ष्मी माताको पाइला बनाइन्छ । माता लक्ष्मीको पाइलासँगै केराको सुत्ला अथवा माटाको पाला राखिन्छ । सबैको घरमा दीयो, मैनबत्ती र झिलीमिली बत्ती बालेर घरलाई उज्यालो अनि सुन्दर सजाइन्छ ।

लक्ष्मीसँगै भगवान् गणेशको पनि स्थापना गरिन्छ । दीयो, कलश, आफूसँग भएका गरगहना र धन राखेर लक्ष्मीपूजा गरिन्छ । संस्कृतिविद् मान्यता अनुसार सन्ध्याकालदेखि पूजा सुरू गरेर मध्यरातमा घरको नारीले नाङ्लो ठटाएर धनधान्य माता लक्ष्मीको आगमन होस् भनी पूजा गरिन्छ । आजकै दिन कन्यालाई लक्ष्मीको प्रतिक मानेर पूजा गरी दक्षिणा पनि दिइन्छ । लक्ष्मी पूजाको दिनदेखि नै देउसी भैलो खेल्ने गरिन्छ ।

भैलो खेल्न आउनेलाई धान, चामल, सेलरोटी, पैसा दिने चलन पनि छ । भनिन्छ लक्ष्मी पूजाको दिन बत्ती नबालेको घरमा माता लक्ष्मी जाँदैनन् । यस दिनलाई दीपमालिका र सुखरात्री पनि भन्ने गरिन्छ ।

गाईपूजा कात्तिक ८ गते मंगलबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलिपूजा र आत्म (म्ह) पूजा कात्तिक ९ गते बुधबार परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४३ पनि यसै दिनदेखि सुरु हुन्छ ।तिहारको मुख्य दिन भाइटीका कात्तिक १० गते परेको छ । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

सोमबार ७ कात्तिक २०७९ ०९:३१ AM मा प्रकाशित

प्रतिक्रिया