×

पोखराको मेयरमा ८ जनाको उम्मेदवारी दर्ता

images

पोखरा महानगरपालिकाको नयाँ नेतृत्व लिन आज आइतवार आठ जनाले मेयरमा उम्मेदवारी दिएका छन् । दुई जनाले उपमेयरमा उम्मेदवारी दिएका छन् । त्यसैगरी वडाध्यक्ष र सदस्यमा गरी २५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

अटेरी अभियान चलाइ रहनुभएका स्वतन्त्र उम्मेदवार गनेश पौडेलले पोखराको मेयरका लागि पहिलो मनाेनयन दर्ता गर्नुभयाे । उम्मेदवारी दर्तापछि पौडेलले राजनीतिक अकर्मण्यताको विरुद्धमा आफूले महानगरकाे मेयरमा उम्मेदवारी दिएको बताउनुभयाे । पालिकामा दलका भन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उहाँकाे भनाइ छ । 

पोखराको मेयर पदमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनको विरोध गर्दै कांग्रेसको पोखरा–१४ का क्षेत्रीय प्रतिनिधि विमलबहादुर कार्कीले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएकाे छ । पार्टी नेतृत्वले रुखमा छाप लगाउने बाटोमा अवरोध गरेको आरोप लगाउँदै कार्कीले उम्मेदवारी दर्ता गरेको र पार्टीभित्र विद्रोहका लागि अघि बढेको बताउनुभयाे । 

त्यसैगरी मौलिक जरोकिलो पार्टीबाट एजल तिमिल्सिना, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मंगोल नेशनल अर्गनाइजेशनबाट प्रेमप्रसाद गुरुङ, स्वतन्त्रबाट रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोलाले मेयर पदमा उम्मेदवारी दिएका छन् । उपमेयरमा सचेत नेपाली पार्टीकी सोनी परियार, मंगोल नेशनल अर्गनाइजेशनका रामबहादुर तामाङको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगर पालिका २६ को वडाध्यक्षमा नारायणप्रसाद आचार्य, पोखरा ३ को वडाध्यक्षका लागि महेश उदास र पोखरा ३० काे वडाध्यक्षमा अनिष गुरुङले स्वतन्त्र उमेद्वारी दिएका छन् । 

ठूला राजनीतिक पार्टीले भने उम्मेदवारकाे टुङ्गाे लगाउन नसकेपछि भाेलि साेमवार मात्रै उम्मेदवारी दर्ता जनाएका छन् । पोखरा महानगरपालिकामा दुई लाख सात हजार सात सय १२ जना मतदाता रहेका छन् । 

आइतबार​ ११ बैशाख २०७९ ०६:०० PM मा प्रकाशित

प्रतिक्रिया