×

मासिँदै वन्यजन्तु

images

 गएको भदौमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटाकी २२ वर्षीया मीरा जोशीलाई हात्तीको बथानले आक्रमण ग¥यो । २०७९ भदौ १३ गते राति ८ बजेतिर हात्तीको बथानले आक्रमण गरेपछि जोशीको घटनास्थलमै मृत्यु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको घरसँगैको बाँस झाङमा हात्तीको बथानले जोशीमाथि आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट ज्यान गुमाउने मीरामात्र छैनन् । गत असार ४ गते कैलालीको टीकापुर नगरपालिका २ की टंकदेवी सोडारीको पनि हात्तीको आक्रमणबाट मृत्यु भयो । २०७८ कार्तिक २ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट एक दम्पतीको ज्यान गयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका-१२ कालागौडीका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मथुरा कार्कीले ज्यान गुमाए । घरमा सुतिरहेकै वेला हात्ती आएको हल्ला सुनी घरबाट निस्किएर भाग्ने क्रममा हात्तीले कार्की दम्पतीलाई आँगनमै कुल्चेर मार्‍यो ।

२०७८ मंसिर २५ गते राति कञ्चनपुरको लालझाडी गाउँपालिका ६ ढक्का शिविरका ४५ वर्षीय खगराज रानाको हात्तीले आक्रमण गर्दा मृत्यु भयो । हात्तीले झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा उनी मारिए । हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भागे । खगराजलाई भने भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा नै च्यातियो । हो-हल्ला गरी गाउँलेले हात्ती त भगाए घाइते अवस्थाका रानाको भने अस्पतालमा लैजाने क्रममा मृत्यु भयो ।

उता कैलालीको गौरीगंगा नगरपालिका-५, अण्डैयाकी २५ वर्षीया कला धामीको भने २०७७ फागुन २ गते बाघको आक्रमणबाट ज्यान गयो । कला घाँस काट्न जंगल गएकी थिइन् । त्यहीवेला उनलाई बाघले आक्रमण गरेर लगेको थियो । बाघले लगेको ठाउँभन्दा केही पर उनको शव भेटियो ।

माथि उल्लिखित घटना जंगली जनावरको आक्रमणबाट ज्यान गएका केही प्रतिनिधिमात्र हुन् । कैलाली र कञ्चनपुरमा जंगली जनावरको आक्रमणबाट बर्सेनि स्थानीयले ज्यान गुमाइरहेका छन् ।

शुक्लाफाटा राष्टिय निकुञ्जको तथ्यांकअनुसार जंगली जनावरको आक्रमणबाट पछिल्लो ३ वर्षमा १४ जनाले ज्यान गुमाए । आर्थिक वर्ष २०७६/७७ मा जंगली जनावरले २५ जनालाई आक्रमण गरेको थियो । जसमा ५ जनाको मृत्यु भयो भने १५ जना घाइते भए । आर्थिक वर्ष २०७७/७८ मा जंगली जनावरको आक्रमणबाट ३० जना घाइते भए । जसमध्ये १४ जना सामान्य र १३ जना गम्भीर घाइते भएका थिए ।

त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा ४३ जना आक्रमणमा परेका थिए । जसमा १० जना सामान्य र २७ जना सख्त घाइते भएका थिए । यो अवधिसम्म वन्यजन्तुको आक्रमणमा परी मृत्यु भएका परिवार र घाइतेहरुका लागि १ करोड ७६ लाख ९८ हजार ९०६ रुपैयाँ राहत रकम प्रदान गरिएको छ ।

बढ्दो तस्करी

गत साउन २० गते कैलाली प्रहरीले बाघको छालासहित ४ जनालाई पक्राउ गर्‍यो । बाघको छाला ओसारपसार भइरहेको सूचनाको आधारमा रिजिनल इन्भेस्टिकेसन टीम (आरआईटी) क्षेत्रीय अनुसन्धन समूह र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई गोदावरीबाट पक्राउ गर्‍यो । टाउकोदेखि पुच्छरसम्म ४ फिट ७ इन्च, पुच्छरको लम्बाइ ३ फिट २ इन्च चौडाइ २ फिट २ इन्च भएको बाघको छाला, प्लास्टिकको कट्ठा, २ केजी हड्डीसहित ४ जना पक्राउ परे । कञ्चनपुरमा पनि केही महिना पहिले बाघको छालासहित २ जना पक्राउ परेका थिए ।

गत जेठ २३ गते कैलालीको घोडाघोडीमा घाइते अवस्थामा रहेको चितुवाले एक महिलालाई गाउँ नजिकैको जंगलमा घास काट्ने क्रममा आक्रमण गर्‍यो । घाइते महिलालाई उपचार गर्न अस्पताल लगियो, बर्दिया राष्ट्रिय निकुन्जबाट आएको उद्धार टोलीले घाइते चितुवाको त उद्धार गर्‍यो । तर, चितुवा मर्‍यो ।

यसैगरी गत चैत्र १७ गते कैलालीको घोडाघोडी नगरपालिका- १० तुल्सीपुर सामुदायिक वन नजिकै रहेको झिरौखामा पासोमा परेको अवस्थामा चितुवा फेला पर्‍यो । पासोमा परेर घाइते चितुवाको उद्धार गर्ने क्रममा नै मृत्यु भयो ।

कैलाली र कञ्चनपुरमा जंगल गएकादेखि घरमै बसिरहेका मानिसहरुसमेत जंगली जनावरहरुको आक्रमणमा परिरहेका छन् । अधिकांश घटनामा गाउँ नजिकै पुगेर पनि वन्यजन्तुले आक्रमण गरिरहेको पाइन्छ ।

बसन्ता जैविक मार्गको वन क्षेत्र ६९ हजार १.२२ हेक्टर रहेको छ । तर, आवादी बसोवास क्षेत्रसमेत गरी ८३ हजार ४३८.९ हेक्टर क्षेत्र ओगटेको छ । जुन जिल्लाको कुल वन क्षेत्रफलको २५.३ प्रतिशत हो । कैलालीको घोडाघोडी नगरपालिका, भजनी नगरपालिका, कैलारी गाउँपालिका, गौरीगंगा नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका यस संरक्षित वनको प्रभावित क्षेत्रअन्तर्गत पर्दछन् । २०७६ साल फागुन १५ यस वन क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गरिएको थियो ।

यो वन क्षेत्रले शुक्लाफाँटा वन्यजन्तु आरक्ष, मोहना कोरिडोर क्षेत्र, भारतको दुधवा राष्ट्रिय निकुन्ज र बर्दिया राष्ट्रिय निकुन्जलाई जोड्ने काम गर्छ । यस क्षेत्रलाई जंगली जनावरको आवागमन र बासस्थानको रुपमा हेर्ने गरिन्छ । वन्यजन्तुको आवागमन सहज होस् र संरक्षणमा सहयोग पुगोस् भनेर नै बसन्ता जैविक मार्गको विकास गरिएको हो । विगतमा दुर्लभ वन्यजन्तुहरुको मार्ग संरक्षित थियो । जसले गर्दा उनीहरुको पनि संरक्षण भइरहेको थियो । अहिले जंगलको नजिक मानव बस्ती पुगेको छ ।

जंगलमा जनावरलाई असहज हुने गतिविधि बढेका छन् । नेपालमा मात्र हैन भारतसँगको सीमा क्षेत्रमा रहेका जंगलहरुमा पनि जंगली जनवारहरुको आवागमनमा अवरोध पुग्नेगरी खाल्डाहरु खनिएको छ । जसले गर्दा जंगली जनावरहरुले आफ्नो नियमित बाटो बदलेर बस्तीको छेउछाउ, बीच वा खाल्डाखुल्डी भएका असुरक्षित बाटाहरु हिँड्न थालेका छन् ।

वन्यजस्तु मानव बस्ती नजिक पुगेपछि मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको छ । कहिले जनावरले मान्छे मारेको र कहिले मान्छेले जनावर मारेको घटना भैरहनु मानव र वन्यजन्तुबीच द्वन्द्वका उदाहरणहरु हुन् । यसले गर्दा चोरी शिकारी पनि बढेको जिल्ला डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुली बताउँछन् ।

पछिल्लो ५ वर्षको तथ्यांक हेर्ने हो भने कैलालीमा मात्रै ३० वटा वन्यजन्तुको तस्करीका कारण मृत्यु भएको छ । आर्थिक वर्ष २०७४/७५ मा ३ वटा वन्यजन्तुको मृत्यु भएको छ भने १४ वटाको उद्धार गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा ३ वटा वन्यजन्तुको मृत्यु भएको छ भने ११ वटाको उद्धार गरिएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा २ वटा वन्यजन्तुको मृत्यु भएको छ भने ९ वटाको उद्धार गरिएको छ । त्यसैगरी २०७७/७८ मा ६ वटा वन्यजन्तुको मृत्यु भएको छ भने ११ वटाको उद्दार गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा २ वटाको मृत्यु भएको छ भने १० वटाको उद्दार गरिएको छ ।

जैविक मार्गमा बस्ती

भारतको दुधवा राष्ट्रिय निकुञ्जबाट नेपालको बसन्ता हुँदै लालझाडी-मोहना, शुक्लाफाँटा वन्यजन्तु आरक्ष हुँदै चुरे पहाडी क्षेत्रसम्मको विशाल जंगल क्षेत्र यहाँको वन्यजन्तुको आवागमन मार्गको रुपमा लिने गरिन्छ ।

पछिल्लो समय यस्ता मार्गहरु मासिने गरी मानव बस्ती विस्तार भइरहेको छ । वन फडानीले जैविक मार्ग संकटमा पर्दा अहिले वन्यजन्तुहरु यताउता भौतारिन थालेका छन् । वन्यजन्तु बस्ती नजिक पुगेर मानिसहरुलाई आक्रमण गर्ने मुख्य कारण उनीहरुको सहज आवागमनमा अवरोध पनि हो ।

यो मार्गलाई जंगली हात्ती, बाघ, चितुवादेखि अन्य कैयौं जनावरहरुले वर्षौं पहिलेदेखि प्रयोग गर्दै आइरहेका छन् । तर, पछिल्लो समय वन्यजन्तु हिँड्ने बाटो मासिने गरी बस्ती विस्तार भइरहेको छ । वन फडानीले जैविक मार्ग संकटमा पर्दा अहिले वन्यजन्तुहरु भौतारिन थालेकाले वन्यजन्तु बस्ती नजिक पुगेर मानिसहरुलाई आक्रमण गर्न थालेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहेताले बताए ।

कैलाली र कञ्चनपुरका मानव बस्तीमा जंगली जनावर पस्नुको मुख्य कारण जैविक मार्ग विनाश हो । यहाँ जनावर बस्तीमै पसेर आक्रमण गर्दा कैयौंले ज्यान गुमाइसकेका छन् ।

हिजोआज कतै जंगल बढिरहेको छ भने जंगल भएको ठाउँमा फडानी पनि भइरहेको छ । सुकुम्बासी भूमिहीन र बाढी पीडितको नाममा जंगलमा खासगरी जनावर ओहोरदोहोर गर्ने जैविक मार्गसम्म बस्ती विस्तार भइरहेको छ । २०५८ सालमा शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा तत्कालीन सरकारले जिल्लाका १० गाविसबाट हजारौं नागरिकलाई घरबारविहीन बनाएको थियो ।

जिल्लाको रौतेलीबिचुवा, बेल्डाँडी, रामपुर, विलासपुर, लक्ष्मीपुर, पिपलाडी, झलारी, दैजी, सुडा, देखतभुली र कृष्णपुरलगायतका स्थानबाट विस्थापित भएकाहरू अहिले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्र कब्जा गरेर बसिरहेका छन् । २०६४ सालको बाढीले भजनी क्षेत्रबाट विस्थापित भएका सयौं परिवारहरु अहिले पनि बसन्ता जैविक मार्ग कब्जा गरेर बसिरहेका छन् । यसका कारण यहाँ वन्यजन्तुलाई ओहोरदोहर गर्न समस्या भइरहेको छ ।

शुक्लाफाँटा निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले हात्तीको बासस्थान साँघुरिँदै गएपछि वन्यजन्तुको आक्रमण बढ्न थालेको बताउँछन् । ‘दुई तीन वर्षयता कञ्चनपुरमा हात्तीको आक्रमण बढेको छ’, उनले भने, ‘हात्ती प्रायः एउटै ठाउँमा नबस्ने र घुमफिर गरिरहने भएकाले हात्ती हिँड्ने बाटोमा बस्ती बस्दा उसले बस्तीमा आक्रमण गर्ने र मानिसको ज्यानसमेत लिने गरेको छ ।’

उनका अनुसार हात्ती हिँड्ने बाटोमा बस्ती भएका कारणले पनि मानिसमाथि हात्तीको आक्रमण बढेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा धान र गहुँ पाक्ने बेलामा हात्तीका बथानहरु आउने गर्दछन् । तिनीहरुको बासस्थलमा आहारको कमीका कारण बस्तीमा लगाइएको गहुँ र धान खान हात्ती गाउँ पस्ने गरेको स्थानीय अर्जुन सिंहले जानकारी दिए ।

भारतको दुधवा राष्ट्रिय निकुञ्ज र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा लालझाडी मोहना वन संरक्षण क्षेत्रका साथै कैलालीको वसन्ता वन संरक्षण क्षेत्रमा बर्सेनि प्रवासी हात्तीहरूको बथान ओहोरदोहोर गरिरहने डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डित बताउँछन् । उक्त संख्या कहिले २०-२५ देखि ५०-६० सम्म रहने गरेको उनले बताए । कैलाली जिल्लामा मात्रै यस्ता प्रमुख जैविक मार्गहरूमा करिब २६ हजार हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको वन कार्यालयको तथ्यांकले देखाउँछ ।

मानव र वन्यजन्तुबीच भइरहेको द्वन्द्वका कारण नै मानवमाथि आक्रमण भइरहेको छ भने वन्यजन्तुको तस्करी बढेको छ । यसको नियन्त्रणका लागि अतिक्रमण हटाउन जरुरी रहेको कैलालीका डिभिजन वन अधिकृत केशव पराजुली बताउँछन् ।

आइतबार​ ६ कात्तिक २०७९ ०२:४८ PM मा प्रकाशित

प्रतिक्रिया