×

आर्थिक र सामाजिक समृद्धि ल्याउन लागौँ : मन्त्री भुसाल

images

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मुलुकमा राजनीतिक परिवर्तन आइसकेको हुनाले अब आर्थिक र सामाजिक समृद्धिमा लाग्न आवश्यक रहेको बताउनुभएको छ । 

 नेकपा (माओवादी केन्द्र) महाभारत–उपत्यका सम्र्पक समन्वय समितिले काभ्रपेलाञ्चोकको बनेपामा आज आयोजना गरेको वैचारिक–राजनीतिक प्रशिक्षणमा मन्त्री भुसालले आफ्नो ठाउँमा भएका साधन स्रोतको भरपुर प्रयोग गर्न अबको चुनावी एजेण्डा बन्नुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)ले गरेको जनयुद्धको जगमा भएको जनआन्दोलनको नयाँ ढङ्गको क्रान्तिबाट संविधान लिपिबद्ध गरिसेकको र सिंहदरबारको अधिकारलाई जनताको घर आँगनमा पु¥याएका कारण त्यहीँबाट सबैखाले अधिकार प्राप्त गरिसकेको अवस्थामा बाँकी अधिकार अब आउने निर्वाचनबाट थप उपलब्ध गराउने उहाँले बताउनुभयो ।

“संविधानको कार्यान्वयन हुँदा जनताले घर आँगनबाट नै धेरै अधिकार उपयोग गर्न पाएको छ”, उहाँले भन्नुभयो, “तर एजेण्डा एउटाको, नेतृत्व अरुको भएको कारण अझै धेरै समस्या छन् ।” ती समस्याको समाधान गर्नका लागि अब आउने निर्वाचनबाट चुनेका जनप्रतिनिधिले पूरा गर्ने भएकाले उहाँहरुको विशेष भूमिका हुने मन्त्री भुसालले बताउनुभयो ।

उहाँले समाजमा वर्ग रहेसम्म वर्ग सङ्घर्ष भए पनि विगतको जस्तो जनयुद्ध नहुने बताउनुभयो । उहाँले अबको निर्वाचनमा परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने व्यवस्थाको रक्षा गर्दै आर्थिक तथा सामाजिक जीवनमा रूपान्तरण ल्याउन जनताले अनुभूत गर्ने खालको विकास गर्ने कुरालाई मुख्य एजेण्डा बनाएर अगाडि बढ्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । 

सो क्रममा उहाँले जनताको विकासको आधारभूत आवश्यक्तता सडक, पानी र विद्युत् भएको उल्लेख गर्दै ती आधारभूत सर्तहरु महाभारत गाउँपालिकाका जनताले विस्तारै प्राप्त गरिरहेको बताउनुभयो । त्यससँगै मन्त्री भुसालले डाँडापारिका कृषिमा विकासको फड्को मार्नका लागि योजना बनाएर अगाडि बढ्न सुझाव दिँदै कृषिको आधुनिकीकरण गरी टुक्रे जमीनबाट एकीकृत खेती प्रणालीतर्फ अघि बढ्न प्रविधिमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले व्यवस्था फेरिए पनि डाँडापारिको जनताको अवस्था फेर्न नसकिएको उल्लेख गर्दै अवस्था फेर्ने काममा गाउँपालिकाले प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो डाँडापारिमा दृष्टिकोणसहित भएको नेता नभएका कारण विकास हुन सकेको थिएन, आज स्पष्ट दृष्टिकोण भएको नेता आएका कारण विकासको काम अगाडि बढिरहेको छ ।” डाँडापारिका सबै ठाउँमा सडकको ट्र्याक खोलेका कारण त्यहाँका जनताले त्यसलाई कालोपत्रे भएको देख्न चाहेकाले त्यसलाई पूरा गर्न आवश्यक बजेट व्यवस्थापन गर्न उहाँले आग्रह गर्नुभयो ।

डाँडापारि क्षेत्रमा स्थायी घर भएर काम र अध्ययनलगायतका विभिन्न पेसा व्यवसायमा आबद्ध भएर बनेपा, पनौती, धुलिखेल र उपत्यकामा बसोबास गर्दै आएका युवालाई लक्षित गरी आयोजना गरिएको कार्यक्रममा आगामी निर्वाचनमा लाग्नका लागि राजनीतिक तथा वैचारिक प्रशिक्षण दिएका हुन् । सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक जिल्ला इञ्चार्ज सूर्यमान दोङ, पार्टीका बागमती प्रदेश अध्यक्ष सरल पौडेल(सहयात्री) र सचिव इन्द्रबहादुर थिङ लगायतले प्रशिक्षण दिनुभएको थियो ।

बुधबार ९ चैत २०७८ ०९:०२ PM मा प्रकाशित

प्रतिक्रिया