दुइटा डुंगामा टेक्ने मान्छे लड्छ यो ध्र्रुवसत्य कथन हो । तसर्थ दोहारोे मान्यता चरित्र भन्ने कुरा कसैलाई हितकारी हुंदैन । केही समय यता देखि लिच्छविसंवत्को निर्णय नामका ६४० पृष्ठकोे पुस्तकमा दोहोरो मान्यता अवलम्वन गरिएको पक्षलाई औंल्याउंदै जनमानसमा पर्दै आएको गंभीर भ्रमलाई चिर्ने प्रयास गर्दै आएको विदितै हुनुपर्छ । लिच्छविसंवत्को निर्णयका त्रुटिहरु शीर्षकको लेख गतवर्ष मिति २०७९ असोज २९ गतेको कान्तिपुर दैनिकमा प्रकाशित भए यता कुनै पनि वर्षमा ३९० दिन हुंदैन भन्ने कुरालाई समातेर किन हुंदैन ? हुन्छ भन्दै केही संस्कृतज्ञहरु प्रतिवादमा उत्रन आएको देखिएको पनि विदितै हुनुपर्छ ।
त्यसकारण यो विषयलाई थप खुलासा नगरि नहुने अवस्था देखिएको हुनाले यो लेखमा त्यही विषय हो । जसरी जुन प्रकारले दोहोरो मान्यता हावि भइरहेका थिए त्यही कुरालाई उजागर पार्ने कोशिस गरिने छ ।
अनन्तलिंगेश्वरमा रहेको नरेन्द्रदेवको अभिलेखबाट(फोटो नं १)
कार्तिकशुक्लैकादश्याम्.......माघ शुक्ल द्वादश्याम्............फाल्गुन मासे........ज्येष्ठ शुक्लैकादश्याम्..........
(लिच्छविकालका अभिलेखको४८६ पृष्ठ)
यस अभिलेखमा कातिक ,माघ,फाल्गुन, ज्येष्ठ यी महीना क्रमैसंग लेखिएको हुनाले अंशुवर्मा देखिका लिच्छवि राजाहरुले व्यवहार गरेको संवत् कार्तिकादि रहेछ भन्ने कुरा थाहापाइन्छ ।
(लिच्छविसंवत्को निर्णयको ९ पृष्ठ)
सूर्यघाटको अभिलेखबाट संवत् ४२७ को आषाढमा मानदेव बितिसकेका देखिएको र चाँगुको अभिलेखबाट संवत् ४२७ को कार्तिकमा मानदेव राज्य गरिरहेको देखिएकाले मानदेवहरुले व्यवहार गरेको संवत् कार्तिकादि थियो भन्ने देखिन आउंछ ।
(लिच्छविसंवत्को निर्णयको ९३ पृष्ठ)
..........मानदेवको चाँगुको अभिलेखको सवत् ३८६ लाई कार्तिकादि शकसंवत् हो भनी मान्दा (सो अभिलेख ज्येष्ठको भएकाले ३८६+१३५+१ =५२२ हुने हुनाले) यसको समय वि.सं ५२२ देखिन्छ ।
(लिच्छविसंवत्को निर्णयको ९६ पृष्ठ)
यी माथिका उद्धरण अनुसार लिच्छविसंवत्को निर्णयमा नयराज पन्तले अंशुवर्मा देखिका लिच्छवि राजाहरुले व्यवहार गरेको संवत् कार्तिकादि थियो र अंशुवर्मा भन्दा अगाडि मानदेवको चाँगुको संवत् ३८६ देखिको संवत् पनि कार्तिकादि नै थियो भनी आफ्नो सिद्धान्त अघि सारेको कुरा प्रष्ट रुपले हेरेर भन्नको लागि उद्धरण समेत राखिएको छ ।
भक्तपुर इनायचो टोलको अभिलेखबाट(फोटोनं २)
संवत् ३१ द्वितीयपौष शुक्लाष्टम्याम्
(लिच्छविकालका अभिलेखको ३१५ पृष्ठ)
अंशुवर्मा देखिका लिच्छवि राजाहरुले व्यवहार गरेको संवत् कार्तिकादि थियो यसकारण अभिलेखको संवत् वि.सं ६६४ को कार्तिक देखि वि.सं ६६५ को आश्विनसम्म रहन्छ ।
विक्रमसंवत्बाट १३५ घटाए शकसंवत् आउंछ । यसकारण वि.सं ६६४(=६६४—१३५)=शकसंवत् ५२९ हुन्छ ।यसकारण अभिलेखको संवत् ३१ शक ५२९ कार्तिक देखि ५३० आश्विन सम्म रहन्छ ।वेंकटेश केतकरको सौरार्यब्राम्हपक्षीय —तिथिगणितमा छापिएको अधिमास क्षयमास सारणीमा शकसंवत् ५३० को ज्येष्ठमा अधिमास छ ।सो अधिमास अभिलेखको संवत् ३१ ज्येष्ठमा पर्छ ।
(लिच्छविसंवत्को निर्णयको ९ पृष्ठ)
माथि नयराज पन्तले अंशुवर्मा देखिको संवत् ३१ पनि कार्तिकादि र मानदेव देखिको संवत् पनि कार्तिकादि भनेर अघिसारेको सिद्धान्त उद्धरण सहित दिइसकेको छ । उहाँले त्यो आफ्नै सिद्धान्त यहाँ आएर पालना किन गरेन भन्ने प्रश्न उठ्छ । किनकि संवत् ३१ भनेको शक ५२९को कार्तिक देखि शक ५३०को आश्विन सम्म रहन्छ भन्नुको तात्पर्य के रहेछ ?
यहाँ निर दुइ थरिको दोहोरो मान्यता प्रष्ट देखियो किनकि शकसंवत् पनि कार्तिकादि र अंशुवर्मा देखिको संवत् पनि कार्तिकादि हो भने तद्नुसार संवत् ३१ जसरी कार्तिकदेखि असोज सम्म रहन्छ त्यसरी नै शक ५२९ पनि कार्तिकदेखि असोज सम्म रहनुपर्ने हो । यसो किन भएन जव संवत् ३१ भनेको शक ५२९ देखि शक ५३० को असोज सम्म रहन्छ भन्ने हो भने अंशुवर्माले व्यवहार गरेको संवत् चाही कार्तिकादि र उनकै पालाको शकसंवत् चाही चैत्रादि हो भने नेपालमा मानदेव देखिको संवत् ३८६ को निरन्तरमा व्यवहार भएको भनिएको कार्तिकादि शकसंवत् कता गयो ? त्यसको खुलासा किन दिइएन त?
यसको मतलव भन्नेवेलामा शकसंवत् पनि कार्तिकादि भन्ने गणना गर्नेवेलामा शकसंवत् चैत्रादि गर्नुले दोहोरो चरित्र देखाएको प्रष्ट हुन्छ । यसले दुनिया दिग्भ्रमित भएको छ । यो विल्कूल नाजायज पनि हो ।
साथसाथै अर्को नाजायज कुरा भनेको संवत ३१ पौषको अधिमास संवत् ३१को ज्येष्ठमा परेको भन्नुको मतलव के ? अभिलेखमा संवत् ३१ पौषमा अधिमास दिइएको हुंदा हुंदै संवत् ३१ जेष्ठमा परेको भनी राती नै घाम लागेको देखाउन त जायज होइन नि । यसको मतलव उहाँको आसय संवत् ३१ जेष्ठ भनेको वि.सं ६६५ जेष्ठ र शक ५३० जेष्ठमा अधिमास परेको देखाउन खोजेको प्रष्ट हुन्छ ।
यदि कार्तिकादि संवत् ३१ कार्तिकमा पनि ३१ र जेष्ठमा पनि ३१ भए जस्तै कार्तिकादि शक संवत् पनि कार्तिकमा पनि ५२९ जेष्ठ पनि ५२९ नै हुनु पर्ने उहाँले किन बूझ पचाए? जव कार्तिकमा ५२९ भएको शकसंवत् जेष्ठमा ५३० हुनेभयो भने त्यो कार्तिकादि होइन चैत्रादि नै ठहरिने हुन्छ । यसमा किन हेक्का राखेनन् ?
यहाँ आपत्तिको विषय भनेको संवत् ३१ को अधिमास शक ५२९ मा पनि गणना गर्ने र शक ५३० मा पनि गणना गरी जुन लिच्छविसंवत्को निर्णयमा त्रुटि भएको हो यो सैद्धान्तिक दृष्टिले अक्षम्य त्रुटि हो ।
चाँगु नारायणको पादपीठ अभिलेखबाट(फोटो नं ३)
संवत् ३१ माघ शुक्ल त्रयोदशी तिष्य नक्षत्र आइतवार
यताबाट अभिलेखको संवत् ३१ मा माघ शुक्ल त्रयोदशीको दिन आइतवार तथा तिष्य नक्षत्र परेका थिए भन्ने देखिन्छ ।
अव गणित द्वारा यसको परीक्षा गरिन्छ ।
अभिलेखको संवत् ३१ (=६३३ + ३१)= वि.सं ६६४
= ६६४—१३५)= शक ५२९ हुन्छ ।
अभिलेखको संवत् ३१ को पौषमा अधिमास लिइएको थियो भन्नेकुरा भक्तपुर इनायचोको अभिलेख (१संख्या) को प्रस·मा परिसकेको छ ।
यसकारण चैत्र१,वैशाख२,ज्येष्ठ३,आषाढ४,श्रावण५,भाद्र६,आश्विन७, कार्तिक८, मार्ग९ प्रथमपौष१०,द्वितीयपौष ११ यी गतमास हुन्छन् ।
तिथिगण = चैत्र शुक्ल प्रतिपदा देखि इष्ट दिन सम्म का तिथि = चैत्रादि गत चान्द्रमास X ३०+वर्तमान चान्द्रमासका शुक्लादि वर्तमान तिथि = ११ X ३० +१३ = ३३० + १३ = ३४३
(लिच्छविसंवत्को निर्णयको ११ पृष्ठ)
माथि उल्लेखित गणना, गणनाको प्रथम चरण मात्र हो । तर त्यो प्रथम चरण पनि बुझ्ने ल्याकत राख्ने मान्छे कोही पनि देखिएन । अभिलेखको अधिमास ३१ जेष्ठमा पर्दछ भन्ने पनि उहाँ नै हो । तद् मुताविक संवत् ३१ जेष्ठ भनेको शक ५३० जेष्ठ र वि.सं ६६५ जेष्ठ देखाउने गरियो । यसको मतलव बेंकटेश केतकरको अधिमास क्षयमास सारणीमा शक ५२९ मा अधिमास छैन । शक ५२९ माघ विसं ६६४ माघको गणना गर्दा शक ५३० जेष्ठको अधिमासलाई फेरि प्रथमपौष द्वितीयपौष भन्दै एउटा पौषमात्र होइन दुइटा पौष गरेर गणना गरेको पनि माथिका उद्धरणले प्रष्ट गर्दछ । यसबाट उहाँले दुनियालाई सिधै आँखामा छारो हालेको प्रष्ट हुन आउंछ ।
यसको मतलव शक ५२९ को वर्षमा अधिमास देखाउन नसक्ना साथ संवत् ३१ अभिलेखमा पौषमा अधिमास देखादेख संवत् ३१ को जेष्ठमा परेको देखाउने र त्यही शक ५२९ माघ शुक्ल त्रयोदशीको गणना गर्दा शक ५२९ चैत्रशुक्ल प्रतिपदा देखि प्रथमपौष द्वितीयपौष गरेर ३३०+१३ = ३४३ पनि देखाउनुलाई दोहोरा चरित्रको अनूपम नमूना भन्न सकिन्छ । यस्तो जाल झेलको गणनालाई कहिले सम्म ढाकछोप गरेर जाने दाउ छ । यस्तो त्रुटि पूर्ण निर्णय देशले कहिले सम्म बोकेर बस्नेहो थाहा छैन । यो कुरा त्रुटि गर्नेलाई लाज छैन भन्नेलाई लाज मान्नु पर्ने अवस्था छ ।
नतिजा
यसले गर्दा नतिजा के देखियो त भन्दा शक ५२९ माघ शुक्ल त्रयोदशी सम्मकोतिथि भनौं या दिन भनौं ३४३ गरिसके पछि बाँकि ४७ दिन भनौं या तिथि जोडे पछि ३९० हुनआउंछ । यसरी ३९० हुंजेल सम्म पनि वि.सं ६६४ नै भए पछि वि.सं ६६४ को चैत्र शुक्ल प्रतिपदा अर्थात् शक ५३०को चैत्रशुक्ल प्रतिपदा देखि वि.सं ६६५ को वैशाख सक्रान्ति सम्म १० दिन मात्र लागेछ भने पनि वि.सं ६६४ को वर्षमा ४०० दिन हुनआउने हुन्छ। शक ५३० मा चान्द्रमान अन्तर्गतको तिथि गन्ति हुने र वि.सं ६६४ मा सौरमान अन्तर्गतको दिन गन्ती हुने चान्द्रमास र सौरमास बीच ११ दिनको फरक हुने यी यावत् सिद्धान्त भद्रगोल खिचडी भइरहेको अवस्था छ । यस्तो सिद्धान्त पनि सिद्धान्त हुन्छ र ? अचम्म छ ।
यसकारण कुनै पनि वर्षमा ३९० दिन भएको वर्ष हुंदैन भन्दा संस्कृतका पण्डितहरु जुर्मुरेर जाइ लागे को देख्दा त झन अचम्म देखियो । यो २०८० सालको क्यालेण्डरमा ४०० दिन किन देखिएन , ३९० तिथि पनि देखिएन , ३८४ तिथि पनि देखिएको छैन तथापि यो वर्ष अधिमास प्रत्यक्ष छ ।
कारण
यसका सम्पूर्ण कारणहरु नियालेर हेर्दैगर्दा शकसंवत्लाई कार्तिकादि भन्ने तर गणना को माध्यम चैत्रादिबाट गर्ने, चाँगुकोसंवत् ३८६ जेष्ठको अभिलेख देखा देख कार्तिकादि भएकोले ३८७ हुने भएर १३५ + १=१३६ जोडेर विसं ५२२ गर्ने, संवत् ३१ पौषमा अधिमास छ भनी भक्तपुर इनायचोको अभिलेखले खुद बोलीरहेका छन् तर संवत् ३१ जेष्ठमा अधिमास पर्छ भन्नु, शक ५२९ मा अधिमास नभएरै संवत् ३१ जेष्ठ गरेर शक ५३० गर्न खोज्ने पनि उहाँ आफै फेरि शक ५२९ माघको तिथिमितिको गणना गर्दा फेरि ५२९ मा अधिमास जोडेर गणना गर्ने पनि उहाँ आफै छ । उहाँका झोले हुक्के बैठकेहरु भने अधिमास भएको वर्षमा फेरि ३९० तिथि हुन्छ यो सामान्य नियम हो यो मोटामोटी हिसाव हो पनि भन्ने गर्दछ । यसरी मोटामोटी हिसावले हुने भए नयराज पन्तले संवत् ३१ को तिथिमितिको गणना ११ पेज देखि १९ पेज सम्म लामो सूक्ष्म हिसाव किन गरेको होला ? ती हुक्के बैठकेलाई के थाहा ? यति लामो गणना पनि ती हुक्केलाई मोटामोटी लाग्छ भने नयराज पन्तको ज्ञान र क्षमताको सोझै अवमूल्यन ठहरिने भयो । के ती हुक्केहरुले नयराज पन्तको गणनाको अपमान गरेको भएन र? किनकि गणना सवै मोटामोटी भन्न हुक्केहरुले हेक्का राख्न पर्दथ्यो । यस्तै ताक परे तिवारी नपरे गोतामे पाराको सिद्धान्त, पद्धति तरिकाहरुले गर्दा नै लिच्छविसंवत्को निर्णयमा देखिएका गंभीर समस्याका कारण भइरहेको छ ।
निष्कर्ष
लिच्छविसंवत्को निर्णयमा गरिएका तिथिमितिको गणना र अधिमासको गणना बुझ्ने ल्याकत कसैको नदेखिनु नै देशको दूर्भाग्य हो । जसले पनि भन्ने गर्छ खोइ गणना हामीले बुझ्दैनौं भन्छन् । तर सिद्धान्त भने बुझ्छन् नि फेरि , यदि सिद्धान्त पनि नबुझेको भए उनीहरु लिच्छविकालमा चलेको संवत् शकसंवत् मान्दा कुनै हानी हुने होइन भन्न भने जानेका थुप्रै जानकारहरु नभेटिएका पनि होइनन् ।
तथापि ती जानकार भनाउंदाहरु पनि लिच्छविकालमा चलेको संवत् शकसंवत र मानदेव संवत् मानेको खण्डमा आपत्ति नहुने भन्दै कत्ति न गणना बुझेको जस्तो गरी सही थाप्छन् । लिच्छविकालमा चलेको संवत् कार्तिकादि हो भनेर पनि बुझेका छन् तर चैत्रादिको माध्यम किन अपनाएको त भनेर बोल्न डराउंछन् । अभिलेखमा बाकायदा संवत् ३८६ जेष्ठ दिइएको देख्दादेख्दै त्यो ३८७ हुन्छ भन्दै गर्दा किन यसो भन्नु परेको भनेर सोध्न डराउंछन् । अभिलेखमा बाकायदा संवत् ३१ पौषमा अधिमास खुलाइएका छन् । त्यो अधिमास संवत् ३१ पौषको होइन संवत ३१ जेष्ठको हो भन्दै गर्दा किन भनेर सोध्न डराउंछन् । जसलाई गणनाको ग आउंदैन उसैले अझ ध्रुवसत्य कुरा बरु झूठो ठहर्ला, नयराज पन्तको कुरा झूठो ठहर्दैन भन्दै वकालत गर्न तम्सिन आउंछन् । त्यसकारण सिद्धान्त के हो ?जव आफैले घोषणा गरेको सिद्धान्त नयराज पन्त आफैले त्यसको बिपरीत दिशामा गइरहेको छ किन ? त्यही बुझ्न नसक्नेहरु नै इतिहासका लागि घातक सिद्ध भइरहेका छन् । यसरी दोहोरा मान्यता लाड्नेहरु भन्दा पनि त्यसको पृष्ठपोषण गर्न जाइलाग्ने झनै देशको लागि भयावह सिद्ध भइरहेका छन् ।
सन्दर्भ ग्रन्थ तथा लेख सूची
१. लिच्छविकालका अभिलेख - धनवज्र वज्राचार्य, वि.सं २०३० मा काठमाडौंबाट त्रिभुवन विश्व विद्यालयको नेपाल र एशियाली अध्ययन संस्थानद्वारा प्रकाशित ।
२.लिच्छविसंवत्को निर्णय - नयराज पन्त, वि.सं २०४३ मा काठमाडौंबाट नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान द्वारा प्रकाशित ।
३. लिच्छविसंवत्को निर्णयका त्रुटिहरु - वि.सं २०७९ असोज २९ गते शनिवार श्यामसुन्दर राजवंशीद्वारा कान्तिपुर दैनिकको कोशेलीमा प्रकाशित ।
४. भ्रमको खण्डन - वि.सं २०७९ कार्तिक ५ गते शनिवार श्याम खनालद्वारा कान्तिपुर दैनिकको कोशेलीमा प्रकाशित ।
प्रतिक्रिया