×

‘अत्यधिक गरिबीबाट विचलित अफगान नागरिकद्वारा काबुलमा आत्मदाह ’

images

तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशमा आएको आर्थिक सङ्कटका कारण आफूले दुई छाक टार्नसमेत कठिन भएको भन्दै यहाँका एक नागरिकले बिहीबार काबुलमा आत्मदाह गरेका स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

करिब २० वर्षका अफगानी नागरिक स्पिन गुलले अप्रिल १८ मा आफैले शरीरमा आगो लगाएका थिए । आत्मदाह गर्ने प्रयासमा जलेर गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको खामा प्रेसले जनाएको छ । 

चार छोराछोरीका बाबु गुल आफ्नो परिवारको लागि आम्दानीको एक मात्र स्रोत थिए । गरिबीका कारण उनी पछिल्लो समय मानसिकरूपमा पनि अस्थिर रहेको गुलका दाजुले बताएका छन् । 

गुलकी हजुरआमाका अनुसार ठेलागाडामा तरकारी बेच्दै आएका गुलले देशमा शासन परिवर्तन आएपछि परिवारमा आएको आर्थिक सङ्कटका कारण आत्महत्या गरेको बताइन् ।

खराब आर्थिक अवस्थाका कारण गुलेले आत्महत्या गरेको प्रतिवेदनको खण्डन गर्दै अफगान आन्तरिक मन्त्रालयले मृतकलाई मानसिक सन्तुलन ठीक नभएको बताएको खामा प्रेसले जनाएको छ । 

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानले आर्थिक सङ्कटको सामना गरिरहेको परिवारका आफन्तहरूले दावी गरेका छन् । 

सन् २०२१ को अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएको थियो । 
तालिबानको सत्तामा द्रुत आरोहणको परिणामस्वरूप आर्थिक गडबडी र खाद्यान्नको अभाव भई देशको गरीब सुमुदायमा मानवीय सङ्कट आएको तालिवानका आलोचकहरूले बताउने गरेका छन् । 

अफगानिस्तानमा तालिवान सत्तामा आएपछि यूरोप तथा अमेरिकाले उनीहरूको मुलुकमा रहेको अफगान सम्पत्तिलाई रोक्का गरेको र दाताराष्ट्रले तालिवान शासकमाथि शङ्काको दृष्टिले हेर्दा अफगानिस्तानमा आर्थिक सङ्कट झाँगिएको बताउने गरिएको छ । 

संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार अफगानिस्तानमा हाल २३ लाख मानिसले खाद्यान्न अभावको सामना गरिरहेका र ९५ प्रतिशत अफगानीहरूसँग दिनमा दुई छाक टार्ने स्रोतको समेत अभाव रहेको र उनीहरूलाई दाताहरूको सहयोग उपलब्ध गराइने गरिएको छ । 

बिहीबार ८ बैशाख २०७९ ११:१४ PM मा प्रकाशित

प्रतिक्रिया