×

शिवरात्रीमा १६ लाखले पशुपति दर्शन गरे, २० लाख भेटी संकलन

images

काठमाडौं । महाशिवरात्रीको दिन १६ लाख दर्शनार्थीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । गत बर्षको तुलनामा यो झण्डै दुई लाखले धेरै हो ।  पशुपति क्षेत्र विकास कोषकाअनुसार गत वर्षको शिवरात्रीमा १४ लाख दर्शनार्थीले मात्रै पशुपतिनाथ मन्दिरको दर्शन गर्न सकेका थिए । यो वर्ष दुई लाख बढेर दर्शनार्थीको संख्या १६ लाख पुगेको हो ।

मन्दिर परिसरसम्म आउने दर्शनार्थी जोड्दा यो संख्या ३० लाख पुग्ने विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए । उनले भने,‘यस बर्षको शिवरात्रीमा २० लाखले मन्दिरको प्रत्यक्ष दर्शन गर्ने अनुमान थियो । त्यति त पुगेन । तर, १५ देखि १६ लाख दर्शनार्थीले मन्दिरको प्रत्यक्ष दर्शन गरेका छन् । गत बर्ष १४ लाखले मात्रै दर्शन गरेका थिए । यस बर्ष सख्या बढेको छ । बाहिरीफेरो मेला भर्नेसहितलाई जोड्दा यो संख्या ३० लाख पुगेको छ ।’

दर्शनार्थीबाट २० लाख भेटी संकलन भएको विकास कोषको दाबी छ । गणना गर्न बाँकी नै रहेको हुँदा भेटीको परिमाण थपघट हुनसक्ने कोषका कार्याकारी निर्देशक डा. खतिवडाले जानकारी दिए ।  उनले भने,‘भेटी गणना भइसकेको छैन । २० लाख जति संकलन भयो होला । यो अनुमान मात्र हो । एकैपटक गन्न सकिँदैन । फुलपातीबाट टक्टकाउनु पर्नेहुन्छ । त्यसो हुँदा समय लाग्छ । गणना सकिएपछि भेटीको मरिमाण यकिन भइहाल्छ ।’

विकास कोषकाअनुसार मेला भर्न भारतबाट सबैभन्दा धेरै दर्शनार्थी भएका थिए । भारतबाट मन्दिर दर्शनका लागि साधु मात्रै ५ हजारभन्दा धेरै आएको कोषको भनाई छ । मलेसिया, इण्डोनेसिया, म्यानमार, भुटान, श्रीलंकाबाट समेत दर्शनार्थी पशुपतिनाथ मन्दिर आएको कोषले जानकारी दियो । 

कोषका कार्यकारी निर्देशक खतिवडाले भने,‘समग्र भारतवाट ठुलो सख्यामा दर्शनार्थी आए । बाबा मात्रै पाँच हजारभन्दा धेरै आएका छन् । मलेसीया, इन्डोनेसीया जस्ता मुलुकबाट पनि दर्शनार्थी आएका छन् । राष्ट्र विकाशमा यस्ता धार्मीक पर्यटनले ठुलो योगदान दिनेसक्छ । यो मुलुककै लागि शुभसंकेत हो ।’

विकास कोषकाअनुसार ०४० तिर पशुपतिनाथ मन्दिर दर्शनका लागि मुस्किलले एक लाख दर्शनार्थी आउने गर्थे । त्यसअघिका बर्षहरुमा ५० देखि ६० हजार मात्रै दर्शनार्थी आउने गरेको कोषको तथ्यांक छ । 
 

फोहर व्यवस्थापनमा वडासँग सहकार्य 

मन्दिर दर्शन गर्न आउने दर्शनार्थीसँगै जम्मा हुने फोहर व्यवस्थापनका लागि क्षेत्र विकास कोषले काठमाडौं महानगरपालिका– ८ सँग सहकार्य गरेको छ । वडाकै सहकार्यमा कोषले कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै संकलन गरेको थियो । जसमध्ये केही फोहर व्यवस्थापन भइसकेको र केही गर्न बाँकी रहेको कार्यकारी निर्देशक डा. खतिवडाले बताए । 

उनले भने,‘फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालीसँग सहकार्य गरेका छौं । कोषले  पनि फोहोर व्यवस्थापन गरिहेका छ । कुहिने फोहोर हटि सकेका छन् । नकुहिने फाहोर विस्तारै व्यवस्थापन गर्छौं । कतिपय सामाग्रि थन्काउनु पर्ने हुन्छ । व्यवस्थीत गरेपछि सबै पुर्ववत अवस्थमा फर्किन्छ ।’


 

सोमबार ८ फागुन २०७९ ०१:४४ PM मा प्रकाशित

प्रतिक्रिया