गत वैशाख महिनाको पहिलो दिन भक्तपुरको प्रसिद्ध विश्वकेतुजात्रा सम्पन्न भएको हाम्रो स्मरणमा अझै ताजा नै छ । यही विश्वकेतु जात्रा नै पछि विश्वजात्रा भनियो । धेरै वर्ष पछि कालान्तरमा आएर यसको अपभ्रंस भइ विस्केतजात्रा कहलिएको देखिन्छ । यो जात्राको विषयलाई लिएर कतिपय लेखकहरु विक्रमसंवत् संग पनि सम्वन्ध जोडेर अनेकं व्याख्याहरु गर्दैआएको देखिन्छ ।
यता वैशाख १ गतेलाई मेष संक्रान्ति कहलिंदै आएको पाइन्छ । यही दिन टोखामा सपनतीर्थ र बाघद्वारमा मेला लाग्ने गर्छ । भक्तपुरमा विश्वजात्रा अन्तर्गत लिंगो ढाल्ने थिमिवोडेमा जिव्रो छेड्नेजात्रा हुन्छ । यही मेष संक्रान्तिलाई नेवारी समुदायमा खाइसंल्हू भनी तीतोरस पकाएर खाने चलन छ । वास्तवमा यी जात्रा पर्वहरु एक अर्का बीच कुनै प्रकारले सम्वन्ध रहेको देखिंदैन र विक्रमसंवत् संग पनि देखिंदैन । अहिले यहीे विषयलाई लिएर ऐतिहासिक प्रमाणहरु के कस्तो रहेको छ त्यही कुरा औंल्याउने प्रयास गरिनेछ ।
सर्वप्रथम विक्रमसंवत् के हो त्यो नि बुझ्नु जरुरी हुन आउंछ । हिन्दुस्थान भारतमा इस्वीको ९ वौं शताव्दीमा आएर मात्र मालवा संवत्को नाम विक्रमादित्यको नामबाट विक्रमसंवत् भनी सम्वन्ध जोड्न थालियो । यो कुरा नेपालका लेखकहरुले भन्नुभन्दा भारतका इतिहासकारहरु स्वयंले भन्दै आएको कुरा हुन् । यतिमात्र होइन यो विक्रमसंवत् ४८१ सम्म कृतसंवत् भन्दै चल्दै आएर ९३६ पुगेपछि मालवासंवत् भनेर चल्दै आएको हो । त्यसपछि मात्र विक्रमसंवत् भनियो भन्ने कुरा भारतीय इतिहासकारहरुले भनेर आएका हुन् । त्यसैले विक्रमसंवत्को कुरा लिएर यो नेपालको पुरानो संवत् हो भन्नु निरर्थक कुरा मात्र हो ।
काठमाडौं उपत्यका भित्र विक्रमसंवत्को उल्लेख नेसं ५११ को राजा जयस्थितिमल्लको पालामा राखिएको पाटन उवावहीको ताम्रपत्र अभिलेख नै पहिलो जस्तो देखिएको छ । यो भन्दा अघिको अभिलेखमा कहीं पनि विक्रमसंवत् उल्लेख भएको देखिएको छैन । त्यसरी विक्रमसंवत्को उल्लेख त देखिए तर नमिल्ने गरि विसं १४४४ देखिए । त्यस्तै भक्तपुर दरवार भित्रको सुनधारा र सुनधारा भन्दा माथिको पाटीमा राजा जितामित्र मल्लको पालाका नेसं ८०८का अभिलेखहरु पाइएका छन् ।
ती मध्ये सुनधारामा विक्रमसंवत् १७४५ छ भने सुनधारा माथि रहेको पाटीमा रहेको शिलालेखमा विक्रमसंवत् १७८९ छ । यसरी एउटै सालमा दुइथरि विक्रमसंवत् उल्लेख भइरहेको हुने भनेको ख्यालठट्टाको कुरा होइन । त्यस्तै अर्को नमुना भक्तपुर दरवार मालती चोकमा रहेको राजा भूपतीन्द्र मल्लको शिलालेखमा नेपालसंवत् ८१८ अंकित भइरहेको छ भने त्यसमै विक्रमसंवत् भने १७९९ आइरहेको छ । यो पनि सामान्य कुरा होइन । यसबाट नेपालसंवत् र विक्रमसंवत् बीचको वर्ष अन्तर थरिथरिका देखिनु को मतलव विक्रमसंवत नेपालमा निरन्तर चलेर आएको होइनन् भन्ने प्रमाणित हुन्छ । त्यसकारण भक्तपुरको विस्केत जात्रा सित विक्रमसंवत्को कुनै तात्विक सम्वन्ध छैन भन्ने बुझिन्छ ।
बिस्केट जात्रा
बिस्केट जात्रा इन्द्रध्वज उत्थान र इन्द्र्रध्वज भञ्जनको जात्रासित सम्वन्ध भएको विशुद्ध जात्रा हो । मेष संक्रान्ति देखि मीनराशिको मसान्तसम्म हुने यात्रासित सम्वन्धित भइ देशमा अनिष्ट, अनिकाल नहोस् भन्ने कामना गरिने जात्रा हो । गौतमी पुराणमा मीन राशिंबाट सूर्य मेष राशिमा प्रवेश हुने यात्रा नै विश्वयात्रायां ध्वजस्योत्थान भनिएको छ । त्यसैले विश्वयात्राको बेला उभ्याइने ध्वजा भएर विश्वकेतु पनि भनिएको हो ।
यो ध्वजा भैरवको प्रतीक स्वरुप ५४ हात लामो पताहा चढाउने चलन छ । यो पताहालाई वीरध्वजा पनि भन्ने गरिन्छ । यस वीरध्वजामा अनेकन चित्र अंकित गरिंदा नाग चित्रपनि हुने र राजा रणवहादुर शाह तथा राजा त्रिभुवन वीरविक्रम शाह देवंबाट चढाएको पताहाहरुमा आकाश भैरवलाई चढाएको वीरध्वजा भनी उल्लेख भएबाट पताहा नागको प्रतीक होइनन् भन्ने बुझिन्छ।
बिस्केट जात्राको ऐतिहासिक पृष्ठभूमि
बिस्केट जात्रा ७२९ वर्ष अघि इन्द्रकूट ध्वजारोहण कै विकसित रुप हो भन्ने ऐतिहासिक पृष्ठभूमि देखिन्छ । सोही क्रममा जयादित्यका पत्नी विश्मदेवी र उनका छोरा जयशक्तिदेवंले इन्द्रकूट ध्वजारोहण शुरु गरेको कुरा गोपालराज वंशावलीमा पाइन्छ । यसमा विश्मदेवीले एउटा ढिस्कोलाई इन्द्रकूट नामाकरण गराए । यही इन्द्रकूटमा जय शक्तिदेवले ध्वजआरोहण गराए भन्ने उल्लेख आएको छ ।
जयभीमदेव पछि जयसिंहदेव राजा भए । जयसिंहदेव पछि नेसं ३९४ निसें ४३० तक अनन्तमल्ल राजा भएको देखिने भएकोले भीमदेवका छोरा जयादित्य राजा हुन नपाएको हुनाले भीमदेवका बुहारी विश्मदेवीलाई नेसं ४१४ सम्म पनि युवराज्ञी भनी संवोधन भइरहेको हुनुसक्छ ।
विस्केत जात्रा भन्नाले इन्द्रध्वज उठाउने र ढाल्ने जात्रा नै मुख्य काम देखिन्छ । यो जात्राको शुरुवात इन्द्रकूट ध्वजारोहण देखि भएको देखिन्छ । कालान्तरमा यसलाई शक्रध्वज, वीरध्वज,देवध्वज, महेन्द्रध्वज,ऐन्द्रध्वज,इन्द्रकूट ध्वज, इन्द्रध्वज आदिइत्यादि नाम दिने गरेको पनि पाइन्छ । यही इन्द्रध्वज नै वीरध्वज कहलिए र यो विश्व विजयको एक द्योतक मानेर विश्वकेतु भनी प्रसिद्ध भए ।
अर्को थरि भनाइ अनुसार विस्केत जात्रा भनेको विसिका जात्रा , विसिकात जात्रा हो । बिसिकात को अर्थ सर्प मर्ने मारिने कथाको उपज भनी जोड दिएर आएका पनि देखिन्छन् । यी कथा ऐतिहासिक दृष्टिले पत्यारिला छैनन् र बि भन्नाले ससाना सर्प लाई जनिन्छ भने विशालकाय अजिंगरसर्पलाई कहीं पनि बि जनाइएको पाइंदैन । वर्षै पिच्छे बडो हर्षोल्लासका साथ मनाइने यो विस्केतजात्रा सर्प मारिने कथा सित जोडिनुको कुनै अर्थ सामीप्य देखिंदैन।
बिस्केट जात्रा र मेष संक्रान्ति बीचको सम्वन्ध
नेपालमण्डल र यसको प्रभावित क्षेत्रमा नेपालसंवत्को प्रचलन इसाको नवौं शताव्दीदेखि प्रचलन भएको हो । नेपालसंवत् तिथिबाट चल्ने र कार्तिक शुकल प्रतिपदा देखि शुरुहुने संवत् हो । विस्केतजात्राको शुरु मेष संक्रान्तिदेखि शुरु भइ मीनको मसान्तमा अन्त हुने र विक्रमसंवत् पनि वैशाख संक्रान्ति देखि शुरु भइ चैत्र मसान्त सम्म रहने संवत् हो । वास्तवमा नेपालमा विक्रमसंवत् भित्रिएदेखि तालसुर केही नमिल्ने गरि भित्रिएको हुनाले यो जात्रा नेपालसंवत सितै सम्वन्धित देखियो ।
नेपालमा गते लेख्ने चलन श्री ३ महाराज चन्द्र समसेरंले ल्याएको र विक्रमसंवत्लाई राष्ट्रियसंवतको रुपमा लाद्ने पनि उनै चन्द्र समसेर थिए भन्ने गर्छ । नेपालका इतिहासकारहरु मात्र होइन भारतका इतिहासकारहरु समेत भारतमा विक्रमसंवत् कार्तिकादि नेपालमा वैशाखादि संवत् भएर चलेर आएको संवत् भन्ने गर्छन् । यसबाट पनि विक्रमसंवत् अस्पष्ट थिए भन्ने पुष्टि गर्छ ।
गतेको प्रचलन चन्द्रसमसेरं ले ल्याएको भनिए पनि नेपालसंवत् जस्तै विक्रमसंवत् पनि तिथिबाट नै चल्दथ्यो भन्ने देखिए । राजा पृथ्वीनारायण शाह देखि राजा त्रिभुवनको पालासम्मका अभिलेखहरुमा गतकोे उल्लेख कहीं पनि भेटिने गर्दैन । त्यसवेला गते नेदेखिनु भनेको तिथिबाट चल्थ्यो भन्ने भयो ।
बरु मध्यकालका अभिलेखहरु मध्ये संक्रान्ति उल्लेख भएका अभिलेख अनगिन्ती मात्रामा छन् जस्तै पाटन मंगलवजारको नरसिंह मन्दिरको अभिलेखमा संवत् ७१० कार्तिकशुक्ल २ ज्येष्ठा नक्षत्र शुक्रमानयोग शुक्रवार विच्छसंक्रान्ति कुन्हु भनेको मतलव मंसिर संक्रान्ति याने मंसिर १ गते परेको तथ्य नेपालसंवत् मै विद्यमान थिए भन्न सकिन्छ । तव गतेको लागि विक्रमसंवत्को सहारा लिनुपर्ने अवस्था त्यतिवेला नै थिएन भन्ने खुलासा हुन्छ ।
यस्ता अरु पनि उदाहरणहरु छन् जसको आधारमा नेपालसंवत् प्रचलन भइरहेको बेलामा पनि संक्रान्ति प्रयोग गर्ने चलन थिए भन्न सकिन्छ । यता तिर ध्यानै नदिनेहरुले नेपालसंवतमा ३५४ दिन मात्र हुन्छ भने विक्रमसंवत्मा ३६५ दिन हुन्छ अतः विक्रमसंवत् बढी व्यावहारिक हुने भयो र नेपालसंवत् चाही अव्यवहारिक हुन आए भनी प्रचार बढी मात्रामा छ तर यसको के अर्थ र औचित्य रह्यो भन्न सकिन्छ ।
विक्रमसंवत्को चाहिने भन्दा बढी तारिफ गर्दैगर्दा भ्रमको खेति पनि जोड्दै आएको देखिन्छ । जस्तो माघशुक्ल त्रयोदशी तिथिको तिथिगण ३४३ मान्नु पर्ने , ३४३ मान्दा त्यो वर्ष शकसंवत्मा ३९० भएको मान्नुपर्ने र शकसंवतको अन्तिम दिन ३९० मानेपछि विक्रमसंवतमा ४०० दिन सम्म पनि हुन आउंछ भनी मान्नु पर्ने जस्ता बाध्यताहरु पनि देखियो । जुनकुरा भ्रम सिवाय केही होइन ।
यसरी स्वनाम धन्य केही विद्वानहरुले कार्तिक देखि चैत्रसम्म नेपालसंवत् र विक्रमसंवत्मा ९३६ अन्तर र वैशाख देखि आश्विनसम्म ९३७ अन्तर हुने मात्र देख्न थाले । विसं १९६०मा आएर श्री ३ चन्द्रसमसेरले विक्रमसंवत्मा गते लेख्ने चल्न चलाए भन्ने त बुझे । तर चन्द्रसमसेर स्वयंले राखेको जयवागेश्वरी नवाली टोलको सुनधाराको अभिलेखमा वि.सं १९६९ कार्तिक शुक्ल नवमी तिथि छ गते छैन ,शाकेसंवत् १८३४ र नेपालीसंवत् १०३२ पनि छ र विक्रमसंवत् १९६९ व नेपालीसंवत् १०३२ कार्तिक शुकल नवमी मै ९३७ अन्तर किन लेखाइयो यता तिर भने कसैको ध्यान गइरहेको छैन । त्यसकारण यथार्थमा विक्रमसंवत् हरहमेसा त्रुटिपूर्ण भएकै तथ्य कुराको यो सानो नमुना मात्र हो ।
निष्कर्ष
नेपालमण्डल भित्र चलेका प्राचीन जात्रा मध्ये विश्वकेतु जात्रा (विस्केत जात्रा ) एक हो । यो जात्रा शुरु हुंदा विक्रमसंवत्को नामाकरणको न्वारन सम्मपनि भएको थिएन । भारत मै न्वारन हुन नपाएको विक्रमसंवत्लाई प्राचीन विस्केतजात्रा सित सम्वन्ध छ भन्नु जायज होइन । अर्को कुरा विस्केत जात्राको साँस्कृतिक ऐतिहासिक आस्था विश्वास लाई मूल्यांकन गरी हेर्ने हो भने सर्प अजिंगर मारेर वा मरेर त्यसको उपलक्षमा यस्तो महिमामय विस्केतजात्रा चल्यो होला भनेर विश्वास गर्नु यो जात्राको अवमूल्यन हो भन्न सकिन्छ ।
विश्वजात्रा अन्तर्गत लिंगो उभ्याउने जात्रालाई थप महत्व र भव्यता दिन पछिआएर आकाशभैरव तथा चामुण्डाको रथ जात्रा समेत थपिएको भन्ने कथन पाइन्छ । तर कसको पालामा थप भएको भन्ने कुरा अझै खोजि कै विषय छ । मार्तण्ड तन्त्रमा विश्वकेतु लिंगोलाई महाकाल भैरव र आकाशभैरव को प्रतिक मानिएको हुनाले पनि विस्केत जात्रामा भैरव र भैरवका शक्ति चामुण्डाको रथ यात्रा समेत थपिएको सम्म भन्न सकेको अवस्था छ ।
प्रतिक्रिया