×

कसरी बने कसैले चुनौती दिन नसक्ने चिनियाँ नेता ?

images

काठमाडौं । सी जिन्पिङ केही दशकमा सबैभन्दा सर्वस्वीकार्य चिनियाँ नेता बन्नेछन् भनेर थोरैले मात्र अनुमान गरेका थिए तर अहिले उनी ऐतिहासिक तेस्रो कार्यकाल सत्तासीन बन्नका लागि तयार छन्।

एक दशक अघिसम्म सीको बारेमा थोरै मात्र थाहा थियो। उनका पिता देशका क्रान्तिकारी नेतामध्ये एक भएकाले उनी 'राजकुमार जस्तै' नेता पुत्र हुन् भन्ने मात्र चर्चामा थियो।

विरासतका कारण उनलाई पार्टीका वरिष्ठ नेताहरूको समर्थन पाउन सहयोग पुग्यो। त्यो चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपि) भित्र शक्ति आरोहणका लागि महत्त्वपूर्ण थियो किनकि ती नेताहरूले प्राय : अवकाशपछि पनि राजनीतिक प्रभाव राख्थे।

बोस्टन विश्वविद्यालयका चिनियाँ सम्भ्रान्त राजनीतिबारेका विज्ञ जोसेफ फ्युस्मिथ भन्छन्, 'उनको पदोन्नति हुनुअघि सी जिन्पिङलाई जोसँग पनि सम्झौता गर्न सक्ने व्यक्तिको रूपमा मानिन्थ्यो।'

तर १० वर्षपछि सीको आधिपत्य निर्विवाद देखिन्छ र उनको शक्ति अतुलनीय छ। त्यो कसरी सम्भव भयो त ? कम्युनिस्ट चीनका संस्थापक माओ त्सेतुङले एक पटक भनेका थिए, 'राजनीतिक शक्ति बन्दुकको नालबाट निस्कन्छ।'

सन् १९४९ मा जनवादी गणतन्त्र चीनको स्थापनापछि माओले पिपल्स लिबरेसन आर्मी (पीएलए) को नियन्त्रण राज्यले होइन, पार्टीले गर्ने भनेर सुनिश्चित गरे।

त्यस बेलादेखि सिसिपिका नेता केन्द्रीय सैन्य आयोग ९सिएमसि० का अध्यक्ष रहने व्यवस्था भयो।

सी आफ्नो पूर्ववर्ती हु जिन्ताओ भन्दा भाग्यशाली थिए, किनभने उनी राष्ट्रपति बने लगत्तै सिएमसि अध्यक्ष बने र सेना भित्रको विपक्षी खेमालाई हटाउन कुनै समय खेर फालेनन्।

सबैभन्दा चकित पार्ने खालको कुरा सन् २०१४ र २०१५ मा भयो। त्यस बेला पूर्व सिएमसि भूतपूर्व उपाध्यक्ष सु काइहोउ र पूर्व पीएलए जेनेरल गुओ बोसीयोङलाई भ्रष्टाचारको आरोप लगाइएको थियो।

'उनीहरूमाथि प्रहार हुँदा ती नेताहरू पहिले नै सेवा निवृत्त भइसकेका थिए तर सीको उनीहरूलाई निशाना बनाउने क्षमताले पीएलएमा भूतपूर्व चिनियाँ नेता जियाङ जेमिनको बाँकी बचेको प्रभावलाई कम गर्‍यो,' पेन्टागनद्वारा अनुदानप्राप्त न्याशनल डिफेन्स युनिभर्सिटीका सिनियर फेलो जोअल वुथ्नोले भने।

'त्यसले सीको नियन्त्रणको प्रतिरोध गर्ने कोही पनि कष्टमुक्त छैन भन्ने हाल सेवारत सैन्य अधिकारीहरूलाई एउटा शक्तिशाली सङ्केत पनि पठायो,' उनले थपे। सन् २०१५ मा सीले सेनाको संरचनालाई पनि परिमार्जन गरे।

उनले कर्मचारी, राजनीति, रसद र हतियारसम्बन्धी चार वटा सैन्य मुख्यालयलाई खारेज गरेर १५ साना एजेन्सीहरूमा परिवर्तन गरिदिए। नयाँ संरचनाले सिएमसिलाई सेनाका विभिन्न शाखाहरूमा सीधै आदेश जारी गर्न अनुमति दिन्छ।

वुथ्नोका भनाइमा वित्तीय लेखा परीक्षकहरूलाई पनि सिएमसिले निर्देशन दिन सक्छ र हाल तिनीहरूले पनि सिएमसि समक्ष प्रत्यक्ष जबाफदेही हुनु पर्दछ।

यी सबै कुरामा सी प्रति पूर्ण बफादारीता कायम गर्नमा गरिएको जोडबल झल्कन्छ र त्यस्तो क्रियाकलाप अझै दोहोर्‍याइएको छ। गत महिना देशको आधिकारिक सैन्य अखबार पिपल्स लिबरेसन आर्मी डेलीले एउटा लेख प्रकाशित गरेर सिएमसिमा समग्र कमान्ड रहेको छ भन्ने कुरामा जोड दियो।

एक अमेरिकी थिङ ट्याङ्क र्‍यान्ड कर्पोरेसनका वरिष्ठ अन्तर्राष्ट्रिय रक्षा अध्ययनकर्ता टिमोथी हिथ भन्छन्, 'कुनै दिन सीको विरोध गर्न सक्ने सम्भावना भएका पीएलएका वरिष्ठ नेताहरूप्रति बफादार हुने गरी सेनामा निर्माण हुन सक्ने प्रवृत्तिलाई प्रतिवाद गर्न यो सन्देश सहयोगी हुनसक्छ।'

'पार्टीप्रतिको बफादारीको अर्थ पीएलएले पार्टी र विशेष गरी सीलाई सत्तामा राख्नका लागि कुनै पनि र सबै आदेशहरू पूरा गर्ने अपेक्षा गरिएको छ।' बीबीसी

मङ्गलबार १ कात्तिक २०७९ ०९:०३ AM मा प्रकाशित

प्रतिक्रिया