×

मन्त्री श्रेष्ठद्वारा सुकुम्बासीलाई लालपुर्जा वितरण

images

सरकारले मध्यपुरथिमि नगरपालिका–६ र ८ वडाका सुकुम्बासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ । नापी कार्यालय भक्तपुरले आज थिमिमा आयोजना गरेको कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले २३ जनालाई लालपूर्जा वितरण गर्नुभएको हो । 
    
    सरकारले उनीहरुलाई पुनःकित्ता नाप गरी लालपुर्जा वितरण गरेको हो । आफ्नो जग्गा भएर पनि लालपूर्जा नपाएर वर्षांैदेखि भूमिहीन बनेका नागरिकलाई प्राथमिकता राखेर देशभरि अभियान चलाएको मन्त्री श्रेष्ठले बताउनुभयो । भूमिहीनलाई जग्गा दिने महोत्तरीबाट सुरु गरेको चार महिनाको अभियानमा झण्डै १५ हजारभन्दा बढीलाई लालपुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । आगामी एक वर्षभित्र देशभरका सबै भूमिहीनलाई लालपूर्जा वितरण गरिसक्ने योजनाका साथ सरकार अगाडि बढेको मन्त्री श्रेष्ठले उल्लेख गर्नुभयो । 
        
    मन्त्री श्रेष्ठले सरकारले सहिद, बेपत्ता परिवार, हलिया, कमैया, कम्लरी, हरुवाचरुवालगायत सिमान्तकृत समुदायका परिवारका लागि यसै सातादेखि नापी तालिमको व्यवस्था गर्दै रोजगारीको व्यवस्था गर्न लागेको बताउनुभयो । सुकुम्बासीलाई जमिन उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न भूमि ऐन लागू गर्ने अन्तिम चरणमा पुगेको उहाँले उल्लेख गर्नुभयो ।

    बागमती प्रदेशसभा सदस्य प्रतिमा श्रेष्ठले जनताका पक्षमा अहिलेको सरकारले काम गरिरहेको चर्चा गर्दै यहाँका भूमिहीनले वर्षौंपछि स्वामित्व पाएको बताउनुभयो । मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सरकारले लिएको अभियानलाई कर्मचारीले सफल पार्नुपर्ने भन्दै लालपूर्जा वितरण कार्यलाई प्रभावकारी बनाइने बताउनुभयो । नापी विभागका उपमहानिर्देशक सुशील डङ्गोलले भक्तपुरमा ४५६ जनालाई लालपूर्जा वितरण गरिने जानकारी दिनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्त, मध्यपुरथिमि नपा–६ का वडाध्यक्ष इन्द्रबहादुर प्रजापतिलगायतले धेरै समस्या र अवरोधकाबीच वर्षौंदेखिको प्रयास सफल भएको उल्लेख गर्र्नुभयो ।

शुक्रबार​ ४ चैत २०७८ ०४:२९ PM मा प्रकाशित

प्रतिक्रिया