×

राजश्व छुट दिँदा महिलाको नाममा घरजग्गा पास बढ्यो

images

काठमाडौं । महिलाको नाममा घरजग्गा पास गर्दा राजश्व छुट हुने भएपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गइरहेको छ । पछिल्लो समय मालपोत कार्यालयमा महिलाहरुको बाक्लो उपस्थिती देखि थालेको छ ।

अहिले मालपोत कार्यालयमा आधाभन्दा बढी सेवाग्राही महिला हुने गर्छन् । सरकारले सम्पत्तिमा महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्ग, दृष्टि बिहीन नागरिकको स्वामित्व बढाउन उनीहरुको नाममा घरजग्गा पास गर्दा रजिष्ट्रेशन शुल्कमा छुट दिने गरेको छ । 

महिलाको नाममा घरजग्गाको बास्तविक स्वामित्व नभए पनि छुटकै लागि भएपनि धेरैले घरजग्गा किनेपछि आमा, श्रीमति लगायतको नाममा लिखत पास गर्ने क्रम बढेको मालपोत अधिकारी बताउँछन् ।

महिलाको नाममा जग्गा पास बढ्न थालेपछि देशभरका मालपोत कार्यालयबाट चालु आर्थिक बर्षको पहिलो ७ महिनामा ४ अर्ब १३ करोड ४० लाख रुपैयाँ राजश्व छुट दिइएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ ।

अहिले कुल कारोबार संख्याको ८० प्रतिशतसम्म महिलाको नाममा लिखत पारित हुन थालेको मालपोत कार्यालयहरुको तथ्यांक छ । 

चालु आर्थिक बर्षको ७ महिनामा दिइएको राजश्व छुट

मालपोत कार्यालयले महिला, अपाङ्, दलित, ज्येष्ठ नागरिक लगायतको नाममा घरजग्गा पास गर्दा साउनमा ६९ करोड २४ लाख, भदौमा ६६ करोड ५६ लाख, अशोजमा ६१ करोड ४८ लाख, कात्तिकमा ४६ करोड ६८ लाख, मंसिरमा ६१ करोड १७ लाख, पुसमा ५९ करोड ४५ लाख र माघमा ४८ करोड ८० लाख रुपैयाँ राजश्व छुट दिएको विभागले जनाएको छ । 

सरकारले ग्रामिण क्षेत्रका महिलालाई ३० प्रतिशत र शहरी क्षेत्रका महिलालाई २५ प्रतिशत दस्तुर छुट दिने गरेको छ । अझ एकल महिलाको हकमा थप १० प्रतिशत छुटको व्यवस्था छ । 

पछिल्ला बर्षमा श्रीमान र श्रीमतीको संयुक्त नाममा घरजग्गाको लालपुर्जा राख्नेहरु पनि बढ्दै गइरहेको विभागको भनाई छ । एक सय रुपैयाँ दस्तुरमात्र तिरेर श्रीमान र श्रीमतीको नाममा संयुक्त नाममा पुर्जा राख्न पाइन्छ । यही कारण पनि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गइरहेको छ । 

महिलाको सम्पत्तिमा स्वामित्व बढाउने, उनीहरुलाई आर्थिक रुपमा सबल र पारिवारिक निर्णय प्रकृयामा प्रभावकारी बनाउने लगायत लक्ष्य राखेर सरकारले राजश्व छुटको नीति अख्तियार गरेको थियो ।

 


 

शुक्रबार​ ६ फागुन २०७८ ०२:०१ PM मा प्रकाशित

प्रतिक्रिया