बागमती सभापतिमा पराजित केसीको गुनासो : प्रदेश सभापतिको कार्यशैलीले निर्वाचन जित्न सकिन्न

    images

      काठमाडौं। बागमती प्रदेश सभापतिमा पराजित जगदिश्वर नरसिंह केसीले सभापति इन्द्र बानियाँले पार्टीमा न्यायोचित व्यवहार नगरेको आरोप लगाएका छन्।

      पार्टीको आन्तरिक निर्वाचनमा विजेताले एकलौटी चलाउने र पराजित पक्षको भूमिका नै समाप्त हुने खालको गरिएको भन्दै उनले असन्तुष्टि पोखेका छन्। ‘लोकतान्त्रिक पार्टी–नेतृत्वको आन्तरिक निर्वाचनमा ‘विनर’ र ‘लुजर’ होइन ‘विनर’ र ‘रनर’ हुन्छ,’ उनले भने। पार्टीमा सबैको भूमिका र गतिविधिलाई नेतृत्वले संयोजन गर्नुपर्ने उनले बानियाँलाई सुझाव दिएका छन्। 

      प्रदेश समितिको निर्वाचन सकिएकोे दुई महिना बितिसक्दा संगठन तथा प्रभाव विस्तार गर्ने जिम्मेवारीमा प्रदेश सभापतिको उचित व्यवहार नदेखिएको उनले आरोप लगाए। ‘पार्टीको आन्तरिक निर्वाचनलाई अर्को पार्टीसँग प्रतिस्पर्धामा जितेको जस्तो ढंगले लिन थाल्दा पार्टीको संरचना, संगठन र सन्तुलन सबै कुरा खल्बलिन जाने वास्तविकताप्रति कम्तीमा प्रदेश सभापति सजग रहनुपर्ने हो,’ केसीले बानियालाई सुझाएका छन्।

      प्रदेश सभापतिकोे एकलकाटे प्रवृत्तिर कांग्रेसको लोकतान्त्रिक संस्कारसँग मेल नखाने उनले बताए। बानियाँको कार्यशैलीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजय गराउन नसकिने उनको ठम्याइ छ।

      बिहीबार ५ फागुन २०७८ ०४:३६ PM मा प्रकाशित

      प्रतिक्रिया