बमजस्तो बस्तु राखेको अभियोगमा ९ जना पक्राउ, पक्राउ पर्नेमा मन्दिरका पुजारी पनि

    images

      झापा। झापाको विर्तामोड र दमकमा प्रेसरकुकर बम जस्तो देखिने बस्तु राखेको अभियोगमा पक्राउ परेका ९ जनालाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ।

      उनीहरुविरुद्ध विष्फोटक पदार्थ ऐन, २०१८ अनुसार म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

      पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो।

      पक्राउ परेकाहरूमा बम जस्तो बस्तु राख्ने योजनाकार भनिएका झापा गौरादह २ का सुमनकुमार कार्की, कनकाई ३ का भीष्म थापा, दमक ९ की देवी बाँस्कोटा गुरागाईं, कनकाई ३ का यमदत्त सिटौला, शिवसताक्षी १ का दिलकुमार सामेखाम, संखुवासभा खाँदबारी १० का मनमोहन दाहाल, गौरीगञ्ज ३ का अनन्तप्रसाद गिरी, गौरादह ५ का प्रदीप थापा र गौरीगञ्ज ३ का विजयकुमार दास हलुवाइ रहेका छन्।

      पक्राउ परेका सिटौला कनकाई कोटीहोममा पुजारी काम गर्ने व्यक्ति भएको प्रहरीले जनाएको छ।

      झापाका दमक र बिर्तामोडमा शंकास्पद बस्तु भटिएपछि प्रहरीले ती बस्तु राख्ने व्यक्तिहरूको खोजी कार्यलाई तीब्र बनाएको थियो। उनीहरूलाई विभिन्न मितिमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापा प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए।

      जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ परेकाहरु यसअघि जिल्लामा भएका विष्फोटका घटनामा पनि संलग्न व्यक्ति हुन्।

      अहिले पनि पुरानै समूहले हिमाल सुरक्षा परिषद्को नाममा विष्फोटक पदार्थ राखेको प्रहरीको भनाइ छ।

      झापाको बिर्तामोडमा माघ ९ गते र दमकमा माघ १३ गते प्रेसरकुकर बम जस्तो शंकास्पद बस्तु भेटिएको थियो। सँगै हिमाल सुरक्षा परिषद्को नाममा एउटा पर्चा बरामद पनि भएको थियो।

      पर्चामा हिन्दु राष्ट्र स्थापना हुनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, एमसीसी सम्झौता खारेज हुनुपर्ने लगायतका माग उल्लेख गरिएका थिए।

       
      बिहीबार ५ फागुन २०७८ ०४:४४ PM मा प्रकाशित

      प्रतिक्रिया