×

राष्ट्रपति पौडेल र ओलीबीच सघन संवाद, एमालेसँग छलफलको तयारीमा कांग्रेस- सत्ता समीकरण फेरबदल होला ?

images

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच सघन संवाद भएको छ । आज (बुधबार) दिउँसो २ः३० बजे पौडेल र ओलीबीच राष्ट्रपति भवन शीतलनिवासमा संवाद भएको हो । 

संवादमा विगत तीन सातायता संसद्को गतिरोध अन्त्यका लागि उनीहरूबीच संवाद भएको एमाले सचिव योगेश भट्टराईले ई–सञ्चारपाटीलाई बताए । भट्टराईका अनुसार राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम र संसद्को गतिरोध अन्त्यका लागि संवाद भएको हो । 

उक्त संवादमा संसद्लाई गति दिनेबारे प्रतिपक्षी दल एमाले अध्यक्ष ओली अझैँ सकारात्मक नभएको राष्ट्रपतिनिकट स्रोतले बतायो । ओलीलाई उद्धृध गर्दै स्रोतले भन्यो– संसद्लाई प्रतिपक्षीभन्दा सत्तापक्षले नै बन्धक बनाएको उनको आरोप छ । 

क्विन्टल सुन तस्करी प्रकरणमा सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको माग गरेका थियौँ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री रामशरण महतलगायत अन्य मन्त्री र सत्तापक्षी सांसदहरू नै तयार नभएकोले विकल्पमा संसद्लाई बन्धनक बनाउन बाध्य भएको भट्टराईको तर्क छ । 

संसद् चलायमान हुन नसकेपछि एमाले र अन्य साना प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका दलहरूको चौतर्फी आलोचना भएको छ । जनताको आवाज मुखरित गर्ने, समस्याको समाधानका लागि नियम, कानुन निर्माण गर्ने थलोको ढोका नै बन्द गर्ने एमालेको नियतमाथि आममानिसले शंका गर्न थालेका छन् । 

बन्धक संसद्प्रति सरकार गम्भीर बनेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बताईन् । उनले ई–सञ्चारपाटीको संक्षिप्त संवादमा भनिन्– प्रतिपक्षी एमालेलगायतका दलहरूले सुन तस्करी प्रकरणलाई लिएर नियमित संसद् बैठक अवरुद्ध पार्दै आएका छन् । यसको निकासका लागि हामीले पनि वार्ता र संवादलाई अगाडि बढाएका छौँ । जसका लागि प्रधानमन्त्रीज्यू स्वयम् तत्पर हुनुहुन्छ । तर, पतिपक्षी संसद् अवरोधबाट पछि हट्न मानिरहेको छैन । उप्रान्त हामी संवाद र वार्ताको माध्यमबाट संसद्लाई गति दिने प्रयत्न गर्नेछौँ । 

प्रतिपक्षी एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म संसद् अघि बढ्न नदिने बलियो अडान कसेको छ । यो अडानबाट एमाले र राप्रपा एक ईञ्च पछि हट्न सकेका छैनन् । साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको जाँचपास पश्चात् बाहिरिएको क्विन्टल सुन प्रहरीले बरामद गरेको थियो । 

उक्त सुन तस्करी प्रकरणमा संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याउन एमालेले माग गरेको छ । यो मागसँगै उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अर्को उसको बलियो अडान कायमै छ । तर, संसद् बन्धक हुनुमा रास्वपाले भने फरक मत राखेको छ । उसले संसद्लाई चलायमान राख्नुपर्ने माग अगाडि सार्दै आएको छ । क्विन्टल सुन तस्करमा संलग्न तस्करीहरूलाई सरकारले पक्राउ गर्दै आएको छ । तर, सरकारमा संलग्न दलका नेता तथा सांसदहरूको कतै न कतै कनेक्सन हुनसक्ने दाबी गर्दै संसद्को रोष्टमबाट प्रधानमन्त्री प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री महतले जवाफ दिनुपर्ने माग छ । यद्यपि संसद्लाई बन्धक बनाएर रमिता देखाउन नहुने रास्वपाको तर्क छ । 

राप्रपाले भने एमालेसँगै लय मिलाएको छ । उसले पनि एमालेले भनेझैँ उच्चस्तरीय छानबिन समिति गठनको विकल्प आफूसँग नभएको बताउँदै आएको छ । संसद् बैठकमै राप्रपा एमालेसँग उठबस् गरेको प्रष्ट देखिन्छ । 

उसको यो कार्यशैली देखेर राजनीतिक विश्लेषक तथा नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षित भन्छन्– सुन तस्करी प्रकरणमा राप्रपासँग स्पष्ट वैचारिक धारणा छैन । उसले एमालेको धारलाई आत्मसाथ गरेको छ । यसबाट राप्रपामाथि जनताको विश्वास गिर्दो छ । बरू रास्वपाले आफ्नो प्रष्ट मत राखेको छ । उसले प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीले संसद् बैठकमै सुन तस्कर प्रकरणको जवाफ दिनुपर्ने माग राखेको छ । तर, राप्रपा अझैँ संसद् अवरोधको पक्षमा उभिएकै छ । 

चलायमान संसद् साउन १० गतेयता अवरुद्ध छ । संसद् अवरुद्ध हुँदा दर्जन बढी विधेयक विचाराधिन छन् । नियम, कानुन निर्माण हुन सकेका छैनन् भने जनताका दैनन्दिनका समस्या ज्युँका त्युँ छन् । संसद् अवरोधकै कारण पछिल्ला विद्यमान समस्या, प्राकृतिक विपत्ति, मानिस तथा विभिन्न पशुपंक्षीमा फैलिएको संक्रमण रोक्न कुनै छलफल नै हुन सकेको छैन । 

प्रधानमन्त्री प्रचण्डले सदनको गतिरोध अन्त्यका लागि पहल नगरेका होइनन् । उनले  गत २४ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई साँची राखेरै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गरेका थिए । तर, उक्त संवादमा संसद् खुलाउनेबारे आलीले बोल्नै नचाहेको स्रोतले बतायो । 

ओलीले संसद् खुलाउनु पहिले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नैपर्ने अडान राखेका थिए । उनी आफ्नो अडानबाट रक्तिभर पछि नहटेपछि हालसम्म संसद् बैठक अवरुद्ध छ । यस विषयमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेल र एमाले अध्यक्ष ओलीबीच संवाद भएको छ । उनीहरूबीचको संवादले पनि पार नपाएको बताईएको छ । 

संसद्को गतिरोध अन्त्यकै लागि सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवा र ओलीबीच छलफल हुने तयारी भएको बताईएको छ । यसका लागि कहिले र कहाँ भेट्ने सोबारेमा कुनै जानकारी नभए पनि भेट गर्ने निश्चित भएको कांग्रेस स्रोत बताउँछ । यद्यपि सत्तारूढ दलको नेताले प्रतिपक्षी दलको नेतासँग भेट्नुलाई महत्वका साथ हेरिए पनि तत्काल सत्ता समीकरण नहुने कांग्रेसको भनाइ छ ।
 

बुधबार ३१ साउन २०८० ०६:०४ PM मा प्रकाशित

प्रतिक्रिया