×

चक्काजामको भिडियो खिच्ने पत्रकार पक्राउ

images

सर्वसाधारणले गरिरहेको प्रदर्शनको भिडियो खिचेको भन्दै मोरङ प्रहरीले एक जना पत्रकार, दुई जना युटुबरसहित ११ जनालाई पक्राउ गरेको छ।

मोरङ सुन्दर हरैंचा-७ की डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले राजमार्ग चक्काजाम गरेका थिए।

त्यहीक्रममा भिडियो खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबरसहितका गाउँलेलाई प्रहरीले मंगलबार साँझ गछियाबाट पक्रेर रातभर हिरासतमा थुनेको हो।

सर्वसाधारणले प्रदर्शन गरिरहेको ठाउँमा भिडियो खिच्दा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई रातभर प्रहरी हिरासतमा राखेको गाउँलेले बताएका छन्।

मोरङ प्रहरी प्रवक्ता डिएसपी मन्जिल मुकारुङले ११ जना पक्राउ परेको भन्दै उनीहरू सबैको पहिचान भइनसकेको बताए। प्रहरीले उनीहरूलाई अभद्र व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ।

नाबालिकाको केही दिनअघि बलात्कारपछि हत्या भएको थियो। हत्या आरोपीहरू पक्राउ परे पनि स्थानीय आन्दोलित छन्। 

प्रहरी स्रोतले भने पक्राउ परेका पत्रकार र युट्युबरले पीडित परिवारको पहिचान खुलाएको आरोप लगाएको छ।

ती पत्रकारले बलात्कार पीडित नाबालिकाको परिवारका बुवाआमाको नामै किटेर समाचार सामग्री बनाएको प्रहरीको दाबी छ।

बुधबार २ चैत २०७८ १२:२६ PM मा प्रकाशित

प्रतिक्रिया