×

जेएसबीलाई कालोसूचीमा राख्ने प्राधिकरणको निर्णय

images

 काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चीनको झेजियाङस्थित ट्रान्सफर्मर उत्पादक ‘जीएसबी’ कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ । कम्पनीका पावर ट्रान्सफर्मरमा पटक–पटक समस्या देखिएपछि प्राधिकरणले जीएसबीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

केही दिनमा नै प्राधिकरणले सार्वजनिक खरिद अनुगमन कार्यालयमा कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गर्नेछ । एक वर्षका लागि कम्पनीलाई प्रतिस्पर्धामा भाग लिन नपाउने गरी कालोसूचीमा राख्न लागिएको प्राधिकरण स्रोतले बताएको छ ।

पावर ट्रान्सफर्मरहरु सबस्टेसनमा राखिने ठूला क्षमताका हुन्छन् । जसमा खराबी आउँदा सबस्टेसनबाटै बिजुली आपूर्तिमा समस्या पर्छ ।

गत १३ र १६ कात्तिकमा चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीको १३२/११ केभी सबस्टेसनका दुई ट्रान्सफर्मर लगातार बिग्रिएका थिए । तिहारमै आएको समस्याका कारण प्राधिकरणले ठूलो हैरानी खेप्नुपरेको थियो ।

त्यसबाहेक पनि कम्पनीका अरु करिब आधा दर्जन पावर ट्रान्सफर्मरमा खराबी देखिएको थियो । ‘पावर ट्रान्सफर्मरमा समस्या देखिनु निकै सम्वेदनशील हुन्छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘एउटा ट्रान्सफर्मर बिगिँ्रदा समयमै फेर्न सकिएन भने सयौं घरपरिवारले बिजुली बाल्न पाउँदैनन् । त्यसैले पावर ट्रान्सर्फारका आपूर्तिकर्ता गुणस्तरमा सचेत होउन् भनेर यस्तो निर्णय गरेका हौं ।’

बिग्रिएका ट्रान्सफर्मर मर्मत गर्न पनि उसैलाई जिम्मेवार बनाएको प्राधिकरणले बताएको छ ।
प्राधिकरणका अनुसार कम्पनीलाई यसअघि आपूर्ति गरिसकेका ट्रान्सफर्मरको वारेन्टी मिति पनि लम्ब्याउन भनिएको छ । धेरै ट्रान्सफर्मरमा समस्या आएकाले उसले पहिले दिएको मिति लम्ब्याएर कम्पनीलाई नै मर्मतमा जिम्मेवार बनाउन खोजिएको प्राधिकरणका एक अधिकारीले बताए ।

ट्रान्सफर्मरमा जीएसबीले वारेन्टी दिएको मिति नाघेपछि नै धेरैजसो ट्रान्सफर्मरमा समस्या देखिएका थिए । तर, एकैपटक धेरैमा समस्या देखिएकाले कम्पाीलाई थप जिम्मेवार बनाउन लागिएको प्राधिकरणको भनाइ छ ।

नेपालमा जेएसबीको ट्रान्सफर्मर नेपाल हाइड्रो एन्ड इलेक्ट्रिक कम्पनीले आपूर्ति गर्ने गरेको छ । यो सरकारको समेत लगानी भएको कम्पनी हो ।

 

मङ्गलबार ३ फागुन २०७८ ०४:३९ PM मा प्रकाशित

प्रतिक्रिया