×

असत्य कुरा पटकपटक दोहराएतापनि त्यो सत्यमा बदलेको हुंदैन 

images

कुनै एक विषयलाई नयाँ नयाँ दृष्टिकोणले व्याख्या विश्लेषण गरिएका उदाहरणहरु प्रशस्त पाइन्छन्  । त्यसै क्रममा एकै व्यक्तिले एकै विषयलाई अनेकौ कोणबाट अध्ययन गरेर थप परिस्कार दिने प्रयास गरेको पनि धेरै देख्न पाइन्छ । यसमा कुनै आश्चर्य प्रकट गरिरहनु आवश्यक छैन । तर एउटै  शीर्षकको एउटै व्यहोराको लेख धेरै ठाउमा छापिएको र छपाउन  दिइएको पाउनु भनेको निश्चय नै आश्चर्य र चकित हुने कुरो हो । 

 जस्तै कि धार्मिक समन्वयको उज्ज्वल नमूना शंकरनारायणको मूर्ति शीर्षकको लेख एक ठाउंमा मात्र होइन धेरै ठाउमा छपाइएका छन् । जसमध्ये आफ्नो अगाडि प्रत्यक्ष देख्न पाइएका त्यही लेख मात्र पनि देहाय बमोजिमका छन् । ती हुन् —
१) वि.सं २०३६ मा सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद को सामुदायिक सेवा समन्वय समिति काठमाडौं द्वारा  सेवा ३ वर्ष १ अंकमा प्रकाशित ।

२)वि.सं २०३७ मा आश्विन हिमालय भक्त प्रधानाङ्ग द्वारा सम्पादित प्रिया १० वर्ष ७ अंक र विसं २०३७ कार्तिक मा  १० वर्ष ८ अंक मा प्रकाशित  ।

३)वि.सं २०३८ मा सनातन धर्मसेवा समिति काठमाडौं द्वारा धर्मसन्देशमा पृष्ठ २९ — ३५ मा प्रकाशित ।

४) वि.सं २०४१ मा पद्मस्मृति ग्रन्थ प्रकाशन समिति काशी द्वारा पद्मस्मृति ग्रन्थ खण्ड ४ मा पृष्ठ ४९ — ५२ मा प्रकाशित ।

५) विसं २०४९ मा साझा प्रकाशन द्वारा बुद्धदेखि पहलमानसम्म नामक पुस्तक पृष्ठ१८ —२६ मा प्रकाशित ।

६) वि.सं २०६६ मा भृकुटी एकेडमिक पव्लिकेशन्स प्रदर्शनी मार्ग द्वारा भृकुटी( समाालोचानात्मक एवम् अनुसन्धानात्मक साहित्यिक साँस्कृतिक त्रैमासिक ,राष्ट्रिय संस्कृति अंक , पृष्ठ १५५ — १५९ मा प्रकाशित । 

७) वि.सं २०७७ मा पशुपति क्षेत्र विकास कोष काठमाडौं द्वारा पाशुपत दर्पण को पृष्ठ ३१ — ३४ मा पनि प्रकाशित । अझै यो लेख कति ठाउंमा प्रकाशित गराइ सकेको हुन सक्छन् । जसले लेख मागे पनि यही लेख दिने गर्छ कि के हो ? हेर्न बाँकी छ । 

यसरी एउटै लेख पटकपटक छापिएकोदेखिन आएतापनि यसमा दिइएका असत्य सन्देश असत्य नै रहे सत्य सावित हुन सकेको छैन । यसरी  एउटै लेख छपाउने धृष्टता कस्तो खालको व्यक्तित्वले मात्र गर्न सक्छ । हलेदो भनेपछि कोट्याइ रहनु परेन । यसतो कुरा देख्न त परै जाउन अन्त कतै  सुनेको पनि छैन । यो न भूतो न भविष्य भने जस्तो आश्चर्यको मान्न सकिन्छ । 

यहाँ एउटै लेख धेरै ठाउंमा छापिएकोमा आपत्ति मानेको पनि होइन । अझै लेखकले सयौ ठाउमा छपाओस् छाप्नेले छपाए पछि कस्को केकोे खसखस मतलव छैन । तर त्यस लेखमा सिद्धान्त बाझिएका कुराहरु त विसंगति हुने देखियो । यसमा पाठकहरु असमञ्जसमा पर्ने स्वाभाविक भयो ती विसंगत देखिएका कुरालाई उघारेर देखाउने आसयको सेरोफेरामा रहेर यो लेख तयार गरिएको छ । 

चाँगुनारायणस्थानको मानदेवको अभिलेख

संवत. ३८६ ज्यैष्ठमासे शुक्लपक्षे प्रतिपदि १    
(रो)हिणीनक्षत्त्रयुक्ते चन्द्र(म)सि मुहूत्र्ते प्रशस्तेभिजिति

 

                                                                                                                                                                                                                   (लिच्छविकालका अभिलेख पृष्ठ १०)

संवत् ३८६ ज्येष्ठ शुक्ल प्रतिपदा , रोहिणीनक्षत्रमा चन्द्रमा बसेमा , असल अभिजित मुहूर्तमा धनवज्र वज्राचार्यका अनुसार चाँगुको यस स्तम्भलेखमा संवत् ३८६ अंङ्कित भएको छ भनी औंल्याइएको छ । उहाँका अनुसार — 

सुमतितन्त्रमा उल्लेखित कुरामा भने कतै बाट पनि कुरा बाझिन आएको छैन । यस कारण संवत्को निर्णय सुमतितन्त्र को मतको आधारमा गर्नु उपपत्तिसम्मत देखिएको छ । यसो हुंदा सुमतितन्त्रको आधारमा पहिलो संवत् शकसंवत् र दोस्रो संवत् ४९८ शकसंवत् देखि(वि.सं ६३३ देखि)उठेको मानदेवसंवत् हो भन्ने सकारी यस ग्रन्थमा समयको उल्लेख गरिएको छ यसबाट चाँगुको यस स्तम्भलेखको समय ३८६ + १३५ = ५२१ वि.सं हुन आउंछ । (पृष्ठ १८)

यहाँ धनवज्रले सुमतितन्त्रको उपपत्ति समात्दै संवत् ३८६ लाई शकसंवत् भनेर सकारेको स्पष्ट छ । भनाइको तात्पर्य संवत् ३८६ भने कै उहाँको निमित्त शकसंवत् हुने भयो । लिच्छवि संवत्को निर्णय मा पुस्तकका लेखक नयराज पन्तको भनाइ यसप्रकार छ । जस्तै —  

......मानदेव देखि अंशुवर्मासम्मका नेपालका लिच्छवि राजाहरुले व्यवहार गरेको संवत् वि.सं १३५ देखि उठेको शकसंवत् हो भन्ने र अंशुवर्माको समयदेखि व्यवहारमा आएको संवत् चाहीं वि.सं ६३३ देखि उठेको मानदेवसंवत् हो भन्ने कुरा देखियो । हामीले स्पष्ट पारेको यस सिद्धान्तको पुष्टि गरिदिने सवभन्दा बलियो प्रमाण सुमतितन्त्र नै हो । सुमतितन्त्र नभेटिएको भए हामीलाई लिच्छविसंवत्को निर्णय गर्न ज्यादै गाह्रो पथ्र्यो ।(पृष्ठ १२१)
 

........मानदेवको चाँगुको अभिलेखको संवत् ३८६ लाई कार्तिकादि शकसंवत् हो भनी मान्दा ( सो अभिलेख ज्येष्ठको भएकोले ३८६+१३५+१ = ५२२ हुने हुनाले ) यसको समय वि.सं ५२२ देखिन्छ । पृष्ठ ९६) 

अव सुमतितन्त्रमा नत कार्तिकादि को बारेमा कुनै एक शव्दको व्याख्या गरिएको छ । नत शकसंवत्मा १३५ + १ गर्ने सूत्रको चर्चा छ । अभिलेखमा संवत् ३८६ स्पष्टै छ र महिना ज्यैष्ठ पनि स्पष्टै छ । त्यतिवेला चलेको संवत् जव कार्तिकादि थियो भनी सकारे पछि विक्रमसंवत् त कार्तिकादि ठहरिएन । तव कार्तिक देखि फागुन सम्म ३८६ मा १३५ जोडियो भने त्यतिवेला वि.सं ५२१ हुने भयो तव वैशाख देखि ५२२ हुने मानेर १३५+१ = १३६ जोड्नु पर्ने भयो । यदि वैशाख उप्रान्तको अभिलेखको मितिमा १३५ जोडेर धनवज्रले गर्नु भए जस्तै गरेको खण्डमा कार्तिक देखि चैत्र सम्मको भए त्यसमा १३४ मात्र जोड्नु पर्ने हुन्छ । तर सुमतितन्त्रमा कुनै ठाउंमा पनि शकसंवत् मा १३४ र १३६ जोड्ने सूत्र दिइएको  खुलासा छैन । त्यसकारण सुमतितन्त्रको हवाला दिए तापनि कार्तिकादि को एउटा शव्दको चर्चा र व्याख्या त्यसमा दिएको देखाउन नसक्नु र शकसंवत् मा १३४ र १३६ जोड्ने सूत्र यहाँ छ भनी खुलाउन नसक्नु नै मुख्य आपत्ति हो । सुमतितन्त्र मात्र होइन वेदाङ्ग ज्योतिष, वराहमिहिरको पंचसिद्धान्तिका के के जाति ग्रन्थहरुमा पनि कार्तिकादिको विषय  र शकसंवत्मा १३४ र १३६ जोड्ने प्रावधानको विषय बारेमा कुनै खुलासा दिइएको छैन । यो कुरा केवल भनाइ एउटा गराइ अर्को गर्न माहिर भएकाले अपनाउने  फट्याईको तरिका मात्र हो ।  यस्तो फट्याई काम अरु कसैले गर्दैनन् । यो वाहियात नै हो । 

एउटै लेख धेरै ठाउमा छपाएर गिनिज बूकमा नाम दर्ता गर्न खोजेको हो भने बेग्लै कुरा नत्र अरु सर्वसाधारणले यस्तो गर्दैन यो कुरा चिरपरिचित विद्वान दिनेशराज पन्तको लागि सुहाउंदो चाही विल्कूल होइन । उहाँको बहु प्रकाशित लेखमा दिइएको यस प्रकार छ । जस्तै

राजा मानदेवको चाँगुको स्तम्भलेखमा संवत् ३८६ ज्येष्ठ लेखिएको छ । चाँगुको स्तम्भ लेखमा देखिएको सो संवत् शकसंवत् हो र लिच्छविकालमा चलेको संवत् कार्तिकादि हुन् भन्ने कुरा प्रमाणबाट सिद्ध भइसकेकोले ३८७ + १३५ = ५२२ वि.सं त्यस स्तम्भलेखको समय हुन आउंछ । ( भृकुटी त्रैमासिक, २०६६ को पृष्ठ १५६)

यो फेरि तेस्रो आश्चर्य छ किनकि अभिलेखमा संवत् ३८६ जेष्ठ लेखिएको छ पनि भन्ने कार्तिकादिको चश्मा लगाउनेवित्तिकै त्यही ३८६ आफसेआफ ३८७ मा परिणत हुने कस्तो आश्चर्य हो । त्यो चश्मा सुमतितन्त्रले ल्याएर दियो कि वेदांग ज्योतिष आएरदियो कि वा पंचसिद्धान्तिका आएर दियो ? त्यो कुरा किन लुकाएको हो । जेष्ठ महिना उल्लेख भएको अभिलेख चाँगुमा मात्र छैन अन्त पनि धेरै ठाउमा छ । अन्तको अभिलेख हेर्न त्यो चश्मा किन उपयोगी सिद्ध भएन ? अतः वाहियात कुराको पनि हद हुन्छ नि ! त्यसकारण इतिहासकार धनवज्र वज्राचार्यले पनि सुमतितन्त्रलाई उपपत्तिसम्मत मान्ने , नयराज पन्तले पनि सुमतितन्त्रलाई उपपत्तिसम्मत मान्ने र दिनेशराज पन्त पनि सुमतितन्त्रलाई उपपत्तिसम्मत नै मान्ने तर तीनै जनाको  उपपत्ति परिणाम किन फरक भएको त ? यसबारेमा अहिलेसम्म पनि कसैको ध्यान जान सकेको छैन यो हो दूर्भाग्य । 

पशुपति देउपाटनको स्वामी वात्र्तको अभिलेख
                       

 संवत् ४८७ प्रथमाषाढ शुक्ल द्वितीयायाम्
                                                                                                                                                                                              (लिच्छविकालका अभिलेख पृष्ठ १९८)
संवत् ४८७ प्रथमाषाढ शुक्ल द्वितीयामा । 

माथि उल्लेखित सिद्धान्त अनुसार धनवज्रको भनाइ बमोजिम संवत् ४८७ भनेकै शकसंवत् भएपछि ४८७ + १३५=वि.सं ६२२ हुन आउंछ । नयराज पन्तको बमोजिम ४८७ + १३५ +१=विसं ६२३ हुन्छ।  दिनेशराज पन्तको बमोजिम ४८८ + १३५ = वि.सं ६२३ हुने भयो । उहाँको लेखमा संवत् ४८७ आषाढ (वि.सं ६२३)मा शङ्करनारायणकोमूर्ति स्थापना गरी यो शिलालेख राखेको देखिन्छ ।(भृकुटी,पेज १५९)

अभिलेखमा प्रथमाषाढ दिइएकोले संवत्४८७ मा अधिमास परेको स्पष्ट छ । तर शक ४८७ को वर्षमा पनि अधिमास छैन र शक ४८८ को वर्षमा पनि अधिमास छैन यो कुरा स्वयं नयराज पन्तको लिच्छविसंवत्को निर्णयको पृष्ठ २९४ पल्टाएर हेर्ने हो भने केरो लक्ष्मण छत्रेले गनेको अधिमास क्षयमास सारणीमा शक ४८७ र शक ४८८ दुवै वर्षमा अधिमास पर्छ भनी दिइएको छैन । यसबाट उहाँहरु तीनै जनाले अवलम्वन गरेको सिद्धान्त फेल भएको प्रमाणित हुनआउंछ । 

यसको मुख्य कारण भनेको सुमतितन्त्र, वेदांग ज्योतिष , वराहमिहिरको पंचसिद्धान्तिका लगायत यावत ग्रन्थमा शकसंवत्लाई कार्तिकादि भनेर परिभाषित गरी व्याख्या गरिएको छैन र ती स्रोतहरुमा शकसंवत्मा १३४ जोडेर वि.सं हुने,  १३६ जोडेर वि.सं हुने र अभिलेख खुदमा लेखिएको संवत्को अंकलाई कार्तिकादिको चश्मा लगाउने वित्तिकै ३८६ अटोमेटिक ३८७ देखिने र ४८७ को अंक ४८८ देखिने हुन्छ भन्ने व्याख्या विश्लेषण छैन । त्यसकारण भनाइ एउटा गराइ अर्को गर्ने सिद्धान्त उहाँहरुले आफैसंग राखि राख्न काम लाग्ला तर दुनियां लाई देखाउन काम लाग्दैन भनी बुझ्न जरुरी छ ।


 

अनुपरम गुप्तको अभिलेख अनुसार    
हाडीगाउ सत्यनारायणस्थानको अनुपरम गुप्तको अभिलेखमा अनुपरम गुप्तले आफनो दार्शनिक तर्कद्वारा बौद्धमतको खण्डन गरेको पाइन्छ र बौद्ध सम्प्रदाय माथि कुतार्किक भनेर आक्षेप समेत लगाइएको पाइन्छ । त्यतिवेला हिन्दु धर्म र बौद्ध धर्म बीच धार्मिक समन्वयको वातावरणमा केही खलवल थियो भन्ने संकेत गर्दछ । यो अभिलेख बाहेक लिच्छविकालका अरु अभिलेखमा अन्य धर्म सम्प्रदायलाई होच्याएर लेखेको देखिंदैन । यहाँ भनाइको तात्पर्य यही कि वैष्ष्णव र शैव बीच कहिल्यै पनि धार्मिक समन्वयको वातावरणमा खलल पुगेको देखिंदैन । तसर्थ शंकरनारायणको मूर्तिलाई धार्मिक समन्वयको उज्वल नमूना भन्न सुहाउँदैन । यदि धार्मिक समन्वयको नमूना भएको भए आधा बुद्धकोआधा शिव या विष्णुको गरि बनाइएको नमूना छ भने त्यसतो लाई मात्र देखाउन मिल्ला जस्तो लाग्छ ।

शंङ्करनारायणको मूर्ति
मूर्ति स्थापना गर्ने भक्त स्वामी वात्र्तले भगवान शिव र भगवान नारायणमा कुनै भेद छैन भनी कल्पना गरी शंकरनारायणको मूर्ति बनाउन दिई स्थापना गरिएको मानिन्छ । अभिलेखको श्लोकहरुमा पनि भगवान शिव र विष्णुको संयुक्त रुपको चर्चा छ तर यी दुई बीच धार्मिक समन्वयको भावको चर्चा छैन । शंकर नारायणलाई हरिहर पनि भन्ने गर्दछ । स्वस्थानीमा नित्य हरिहरको दर्शन गरी घर फर्कने गरेको प्रसंग हरिहरले नवराजलाई दर्शन दिएर हरिहर हात्तीमा प्रवेश गरी राजा बनाएको प्रसंग पाइन्छ । ठीक त्यही अनुसार बिना हरिहरले नदिई कोही पनि राजा हुन पाउँदैन भन्ने आस्था र विश्वास रही आएको छ । त्यसैले शिव र नारायणको एकात्म रुप भन्न सकिन्छ तर शिव र नारायणको धार्मिक समन्वयको प्रतिक भन्नु सहाउंदो छैन । यदि शिवपार्वती लक्ष्मीनारायणको अर्ध नारीश्वरलाई पनि धार्मिक समन्वयको प्रतिक भन्न थाल्यौं भने अर्थको अनर्थ  लाग्ने हुनसक्छ ।  
 

भौम गुप्त
भौम गुप्त अनुपरम गुप्तका छोरा  हुन् । भौम गुप्त आफुले आफुलाई सर्वदण्ड नायक महाप्रतिहार भन्न मै गौरव मानेका थिए भन्ने देखिन्छ । किनभने उनको नाम सर्व प्रथम संवत् ४७९को अभिलेखमा देखिंदा पनि त्यही पदवी लिएको र अन्तिममा संवत् ५१२ को अभिलेखमा पनि उनको नाम देखिंदा पनि त्यही पदवी लिएको देखिन्छ । संवत् ४८७ स्वामी वात्र्तको अभिलेखमा मात्र परमदैवत उल्लेख आएको देखेर कतिपय इतिहासकारहरुले अतिशयोक्तिपूर्ण व्याख्या गरी तत्कालीन राजा गणदेव नाम मात्रको राजा थिए असली राजा भौमगुप्त थिए सम्म पनि भन्न भ्याए । 

कतिपय इतिहासकारले माने अनुसार भौमगुप्त ले कुनैवेला स्वतन्त्र राजाको रुपमा शासन चलाए भनेकोे कुरालाई इतिहासकार धनवज्र वज्राचार्यले यो सत्य होइन भनेर लेख्नुभएको छ । वास्तवमा गद्दीनशीन राजा त्यसवेला गणदेव नै हुन् । यो त केवल स्वामीवात्र्त एक जनाले आफुलाई राजाको अनुग्रह पाएको नभनी भौम गुप्तको अनुग्रह पाएको लेख्नुको आसय भनेको चाकरी व्यक्त गरेको मात्र हो ।त्यही भएर  यसरी कुनै आशामुखी व्यक्तिले त्यसरी प्रशंसा गरी राखेको अभिलेखलाई प्रमाणको रुपमा लिनु हुंदैन भनेर समेत लेख्नुभएको छ । वास्तवमा यही कुरा ठीक देखिन्छ ।
 

स्वामी वार्त 
स्वामी वात्र्त  भौमगुप्तको एकजना पक्का अनुयायी थिए । यिनले पशुपति देउपाटनमा शंकर नारायणकोमूर्ति स्थापना गरी  शिलालेख पनि राखे । शिलालेखमा संवत् ४८७ प्रथमाषाढ शुक्ल द्वितीयामा गद्दीनशीन महाराज श्री गणदेवबाट धेरैकाल सम्म राज्य गरिरहनु भएको समयमा परमदैवत श्री भौमगुप्तका पाउको अनुग्रह पाएको स्वामीवात्र्तले शिव र विष्णुको आधाआधा शरिर भएको शंकरनारायण मूर्ति बनाएको कारण सहित उल्लेख गरेका छन् । तर धार्मिक सहिष्णुताको प्रतीक भनी कारण जनाइएको भने छैन ।   
 

 निष्कर्ष
त्यसकारण सुमतितन्त्र, वेदांग ज्योतिष वराहमिहिरको पंचसिद्धान्तिकाको हवाला दिएर नथाकेकाहरुबाट लिच्छविकालको संवत् निर्णय संभव छैन भन्ने छर्लङ्ग हुन आउंछ । किनभने ती स्रोतमा शकसंवत् कार्तिकादि भनेर व्याख्या गरिएको पनि छैन । शकसंवत्मा १३५ जोडे पछि विक्रमसंवत् आउछ भन्ने कुरा यताउताबाट तानतुन गरेर त ल्याए । तर शकसंवत्लाई कार्तिकादि मान्ने वित्तीकै शकसंवत्मा १३५ जोडेर विक्रमसंवत् बनाउने प्रणाली मै पनि खरावी देखिए । किनकि त्यो १३५ कार्तिक देखि चैत्र  सम्मको मितिमा जोडेभने वैशाख देखिको मितिमा १३६ जोड्न जानुपर्ने  र यदि वैशाख देखि आश्विनसम्मको मितिमा १३५ जोडे भने कार्तिक देखि चैत्र सम्मको मितिमा १३४ मात्र जोड्न जानुपर्ने विपत्ति आइपर्ने भएकोले यसरी १३४ र १३६ जोड्नका लागि त्यो प्रणाली आकास देखि पातालसम्म खोज्दा पनि त्यसको उपपत्ति भेटिने अवस्था भने कतैबाट अहिलेसम्म पनि जुटेको छैन । यसरी यथार्थ कुरा जनमाानसमा ल्याइ दिने काम हो । यो कुरा कोही अन्धभक्तहरुको लागि प्रीय भएन भने भएन । कसैको खुसामद गरेर नमिलेको कुरा पनि आहा राम्रो भनी तारिफ गर्नुपरेको छैन । सत्य दग्दैन असत्य टिक्दैन  भन्ने पूर्वजहरुको उखान छ यसैलाई सदा याद गरौं । बस् यसैमा भलाइ छ । 
 

सहयोग लिएका ग्रन्थ तथा लेख
१. धनवज्र वज्राचार्य — लिच्छविकालका अभिलेख
२. नयराज पन्त — लिच्छवि संवत्को निर्णय
३. दिनेशराज पन्त — धार्मिक समन्वयको उज्ज्वल नमूना शंकरनारायणको मूर्ति शीर्षकको लेख विभिन्न 
                               समयमा विभिन्न जर्नलहरुमा प्रकाशित । 


 

शुक्रबार​ २९ असार २०८० ०१:५१ PM मा प्रकाशित

प्रतिक्रिया