काठमाडौं । सामान्य भाषामा थाइराइड भनेको गलगाँड हो । धेरैले यसलाई नयाँ रोगको रूपमा लिन्छन् । थाइराइड भनेको एउटा ग्रन्थी हो ।यो एउटा सानो पुतली आकारको अङ्ग हो । यो हाम्रो घाँटीको अगाडिको भागमा हुन्छ । रुद्रघण्टीको ठिक तल रहेको यो ग्रन्थीले थाइरोक्सिन (टी–३) र ट्राइआयोडो थाइरोनिन (टी–४) हर्मोन उत्पादन गर्छ । सोही हर्मोनले नै हाम्रो शरीरको अंगको क्रियाकलापलाई नियन्त्रण गर्छ । तसर्थ सजिलोका लागि थाइराइड ड्राइभर हो भने हाम्रो अन्य अङ्ग मोटर हो । थाइराइड हाम्रो शरीरको अत्यन्तै महत्वपूर्ण अङ्ग हो ।
थाइराइड घट्ने र बढ्ने हुन्छ । थाइराइड ग्रन्थी धेरै चलाइयो भने हाइपर थाइराइड हुन्छ भने थाइराइडले गर्नुपर्ने भन्दा कम काम ग-यो भने हाइपो थाइराइड हुन्छ । हाइपर थाइराइड भयो भने मान्छे दुब्लाउँछ र हाइपो थाइराइड भयो भने मान्छे मोटाउँछ । हर्मोन बढी उत्पादन हुनुलाई हाइपर थाइरोइडिज्म भनिन्छ भने कम हर्मोन उत्पादन गर्ने कामलाई हाइपो थाइरोडिज्म भनिन्छ ।
यो शरीरको आफ्नै कारण (अटो इम्युन) ले हुने रोग हो । यसमा शरीरले एन्टिबडी बनाएर थाइराइडलाई काम गर्न दिँदैन । कहिलेकाहीँ रुघाखोकी वा घाँटी दुख्ने भएमा र कतिपय अवस्थामा सुत्केरी समयमा पनि थाइराइड हर्मोनको गडबडी देखिन्छ । तर, केही समयपछि यो समस्या आफैँ निको भएर जान्छ । कसैलाई मुटु र डिप्रेसनको औषधिका कारण पनि थाइराइडको समस्या हुने गरेको छ ।
नेपालमा महिलालाई बढी समस्या देखिने गरेको छ । महिलामा रोग प्रतिरोधात्मक क्षमतामा हुने गडबडीले यो रोग बढी भएको पाइएको हो । महिला र पुरुषको अनुपातमा हेर्दा १० जना महिलामा देखिएमा एकजना पुरुषमा देखिन्छ ।
यी लक्षण देखिएमा थायराइड भएको आशंका गरिहाल्नुपर्छ
घाँटीतिर सुन्निएको हुनु
धेरै थकावट हुनु
महिनावारी अनियमित हुनु
छातीतिर पिडा हुनु
भोक भएपनि खान मन नलाग्नु
मौसम बद्लिंदा सजिलै बिरामी पर्नु वा प्रभावित हुनु
धेरै विर्सिने बानी बस्नु
पेटमा समस्या आउनु
मांसपेशि, जोर्नी आदि धेरै दुख्नु इत्यादि
यो समस्या महिलामा बढी देखिएपनि पुरुषमा पनि हुन सक्छ । पुरुषमा हाइपोथायरोइड भएमा शुक्राणुको संख्या कम हुने, यौन सम्बन्ध राख्न मन नलाग्ने जस्तो समस्या आउन सक्छ ।
थायरोइडको समस्या भने असन्तुलित खानपान (आयोडिन पूर्ति नहुने), प्रदुषित वातावरण, पहिलो बच्चाको जन्म, बंशानुगत समस्या इत्यादि कारणले हुन सक्छ ।
शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी भएको कारण वा रुघा लागेमा वा भाइरल इन्फेक्सन भएमा थाइराइड ग्रन्थिमा संक्रमण भएर पनि यो रोग देखिन सक्छ । लामो समयसम्म औषधिका प्रयोगले पनि मानिसहरुमा थायराइडको समस्या देखिने गर्छ । जस्तैः मानसिक रोग, मुटु रोगका बिरामीलाई प्रयोग गरिने औषधिका कारण पनि थायराइड रोग लाग्न सक्छ ।
थायराइड र प्रजननको सम्बन्ध
१० देखि १५ प्रतिशत बाँझोपनका समस्या थायराइडसँग सम्बन्धित छन् । थायराइडकै कारण महिनावारी समयमा वा पूर्ण रुपमा नहुन सक्छ । PCOS को समस्या आउन सक्छ । हर्मोनहरुको सन्तुलन नहुँदा भ्रुणको विकास राम्ररी हुन सक्दैन र गर्भ तुहिन सक्छ । यस समस्याबाट पीडित आमाबाट जन्मिएको सन्तानमा पनि विभिन्न दिर्घ रोगहरु देखिन सक्छ ।
थायराइडका विरामीहरु आमा बन्नु हुँदैन त ?
थायराइड भएकै अवस्थामा गर्भवती नहुनु नै उचित देखिन्छ । गर्भवती भएको अवस्थामा पत्ता लागेमा भने आफ्नो चिकित्सकलाई सम्पूर्ण कुरा भन्नुहोस् र पूर्ण हेरचाहमा मात्र औषधिको सेवन गर्नुहोस् । नत्र शिशुलाई असर पर्न सक्छ । थायराइडका बेला राम्ररी विकास नभएको बच्चा जन्मिन सक्छ त्यसैले हरेक चोटी गर्भवती हुनु अघि यसको जाँच गराउनुपर्छ । हर्मोन सन्तुलित बनाएर र थायराइडको उचित माप आइसकेपश्चात भने प्राकृतिक रुपमा पनि गर्भधारण गर्न सकिन्छ ।
थायराइडका समस्याबाट कसरी बच्ने त?
यसबाट बच्न सबैले आयोडिनयुक्त खानेकुरामा ध्यान दिनुपर्छ । अरु बेला भन्दा गर्भधारणको बेला धेरै आइरन र शक्ति चाहिने भएको कारण यो बेलामा हरियो सागसब्जी, फलफूल, माछामासु खानेकुरामा जोड दिनुपर्छ । यो बेलामा ब्यायामको खासै भूमिका रहन्न । यसको उपचारका लागि भने मानिसहरूले विभिन्न प्राकृतिक उपाय अपनाउन सक्छन् वा सर्जरी पनि गराउन सक्छन
प्रतिक्रिया