×

नेपाली भूमि मिचेर भारतले तटबन्ध गर्न लागेकोप्रति विप्लव नेकपाको आपत्ति, तुरून्त रोक्न माग

images

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली भूभाग मिचेर गर्न लागेको तटबन्ध तुरुन्त रोक्न माग गरेको छ । 

सोमवार प्रेस विज्ञप्ति जारी गर्दै नेकपाले दार्चुलाको खलंगापारि बांगाबगड र वीरेन्द्र वन इलाकामा एसएसबीले तटबन्धको बहानामा भारतीय सीमाभन्दा ८–१० मिटर नेपाली भूभाग मिचेकाले सो कार्य तुरुन्त बन्द गर्न माग गरेको हो । 

नेकपाले दार्चुला खलंगापारिको महाकाली नदीमा भारतले गरेको अतिक्रमण रोक्नका लागि कूटनीतिक र राजनीतिक पहल गर्न देउवा सरकारसँग माग पनि गरेको छ । 

‘दुई देशको सिमानासम्बन्धी सवालको निरुपण गर्ने अन्तर्राष्ट्रिय कानूनी मान्यताहरुका खिलापमा एसएसबीले तटबन्धको नाममा नेपाली भूमि अतिक्रमण गरेको र तटबन्धबाट महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भूभागतिर मोड्ने बदनीयतपूर्ण कार्य तुरुन्त रोक्न भारत सरकारलाई कडा चेतावनी दिन चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘खलंगापारिको महाकाली नदीमा एसएसबीमार्फत भारतीय मोदी सरकारले गरेको अतिक्रमणलाई तुरुन्त रोक्नका लागि कूटनीतिक र राजनीतिक पहल गर्न शेरबहादुर देउवा सरकारसँग हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

साथै नेकपाले यसका विरुद्ध प्रतिरोध संघर्षलाई सशक्त पार्न दार्चुलावासीमा अपिलसमेत गरेको छ ।

सोमबार ३० फागुन २०७८ ०४:३२ PM मा प्रकाशित

प्रतिक्रिया