आज गुरुपूर्णिमा अर्थात् गुरुको सम्मान, स्मरण र कृतज्ञताको भाव प्रकट गर्ने दिन । महाभारतका रचयिता कृष्ण द्वैपायन वेदव्यासको जन्म आजकै दिनमा भएको थियो । असार पूर्णिमाको दिनमा जन्मिएका वेदव्यासले सम्पूर्ण लोकलाई शिक्षा दिने उद्देश्यले चारै वेदको रचना गरेका थिए ।
त्यसैले असार पूर्णिमाको दिनलाई व्यास जयन्ती अथवा गुरुपूर्णिमाको नामले मानिँदै आएको छ । यस दिन श्रद्धापूर्वक गुरुको पूजा गर्ने चलन रहेको छ । म्याग्दीको बेनी नगरपालिका– ६ का पण्डित दीपक पौडेलका अनुसार गुरुले आफ्ना शिष्यलाई किताबी ज्ञान मात्र दिने नभइ जीवन जिउने कला सिकाउँछन् । शिक्षक, आचार्य आदि गुरु शब्दकै पर्यायवाची हुन् । जीवनोपयोगी शिक्षा दिनेलाई शिक्षक भनिन्छ जसले प्राप्त ज्ञानलाई आफ्नो आचरणमा लागू गरी शिष्यलाई प्रयोगात्मक ज्ञान दिन्छन् तिनलाई आचार्य भनिन्छ ।
शिष्यलाई ज्ञान दिने, अज्ञानता हटाउने र उनीहरुको चरित्र निर्माण गरी योग्य नागरिक बनाउने शिक्षाको मूलमर्म विपरीत अहिलेको पठनपाठन व्यावसायिकतातर्फ लक्षित भएको गुनासो छ । पढेपछि कमाउनै पर्छ, जागिर खानैपर्छ भन्ने मान्यता विकसित हुँदै जाँदा समाजमा गुरुप्रतिको सम्मान पनि कम भएको र गुरु शिष्य परम्परा पनि हराउँदै गएको ७८ वर्षीय पण्डित नीलकण्ठ आचार्यले बताउनुभयो ।
“हाम्रा वेद उपनिषद्हरुले ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’ भनी आमाबुबा र गुरुको महिमा गान गरेका छन् । जन्म दिने आमालाई प्रथम गुरु, कर्म दिने पितालाई द्वितीय गुरु र ज्ञान दिने गुरुलाई साक्षात् गुरु भनी शास्त्रहरूमा वर्णन गरिएको पाइन्छ”, आचार्यले भन्नुभयो । जसले ‘म को हूँ’ भन्ने मानवीय मूल्य मान्यतालाई बुझाइ समाजका हरेक समस्याको सामना गर्ने क्षमता प्रदान गर्दै परम ज्ञान दिन्छन् तिनलाई गुरु भनिने पं आचार्यको भनाइ छ । तर अहिलेका गुरुहरुले पनि आफ्नो मर्यादा र आत्मानुशासनलाई विर्सदा विद्यार्थी पनि त्यसैको सिको गर्दै जान थालेका उहाँको भनाइ रहेको छ ।
शास् धातुबाट बन्ने शिष्य शब्दको अर्थ अनुशासनमा बसी ज्ञान आर्जन गर्ने भन्ने हुन्छ । तर,अहिलेका विद्यार्थी शिष्यको परिभाषाभित्र पर्नै छाडेका शिक्षण पेसाबाट अवकास प्राप्त ७४ वर्षीय धनबहादुर घिमिरेले बताउनुभयो । जसले गुरुको वचनअनुसार अनुशासनमा बसी गुरुद्वारा प्रदत्त ज्ञानआर्जन गर्दछ त्यही नै असल शिष्य हो । पौराणिक कथन अनुसार भगवान् राम, शङ्कराचार्य, विवेकानन्द आदि सबैले गुरुद्वारा असल शिक्षा पाई विश्वमा आफ्नो कीर्ति फैलाउन सफल भए । गुरुकै निर्देशनमा उनीहरूले नयाँ युगको प्रारम्भ गरे । हिन्दू परम्परामा गुरुबिना ज्ञान प्राप्त हुँदैन र जीवन सफल हुँदैन भन्ने मान्यता छ ।(
प्रतिक्रिया