×

श्रीलङ्काका प्रधानमन्त्री कार्यवाहक राष्ट्रपतिमा नियुक्त, प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय घेराउ गर्न खोज्दा झडप

images

श्रीलङ्काको कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पाउनुभएको छ  ।

भागेर माल्दिभ्स पुगेका राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिनुभएको सभामुख महिन्दा यापा अबेवर्देनाले बताउनुभएको खबरमा उल्लेख छ । यसैबीच, राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँको सङ्ख्यामा प्रदर्शनकारी प्रधानमन्त्री कार्यालय घेराउ गर्न अघि बढेपछि सुरक्षाकर्मीले रोकेका छन् ।

प्रदर्शनकारी र प्रहरीबीचको झडपमा केही घाइते भएका छन् । प्रहरीले दर्जनौँ सेल अश्रुग्यास र केही राउन्ड हवाई फायर तथा रबरका गोली चलाएको छ । प्रधानमन्त्री कार्यालय जाने राजकिया मवाथा सडक अश्रुग्यासको धुवाँले ढाकिएको छ ।

सडकमा गोली चलेको समेत आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् । श्रीलङ्कामा सङ्कटकाल लागू भएको छ । आर्थिक सङ्कट र राजनीतिक अस्थिरताकाबीच प्रधानमन्त्री रनिल बिक्रमासिङ्घेले सङ्कटकालको घोषणा गर्नु भएको हो । उहाँले श्रीलङ्काको पश्चिमी प्रान्तमा कर्फ्युसमेतकाे घोषणा गरेका बीबीसीले जनाएको छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षे भागेर माल्दिभ्स पुग्नुभएको छ । 

बुधबार २९ असार २०७९ ०२:२० PM मा प्रकाशित

प्रतिक्रिया