×

५ वटा आयोजना बनाउन १ खर्ब ६७ अर्ब ५९ करोड बराबरको लगानी स्वीकृत

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला पूर्वाधार परियोजनामा लगानी केन्द्रित गर्न आग्रह गरेका छन् । लगानी बोर्ड नेपालको बैठकलाई सम्बोधन गर्दै उनले दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन ठूलो लगानीको आवश्यकता रहेको बताएका हुन् ।

उनले वैदेशिक पुँजी तथा प्रविधि भित्राएर स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु पनि उत्तिकै आवश्यक रहेको औंल्याए ।

‘दिगो विकासको लक्ष्यलाई समयमै प्राप्त गरी उच्च मध्यम आयको मुलुकमा स्तरोन्नति हुन हामीलाई ठूलो लगानीको आवश्यकता छ । तर सरकारसँग लगानीका सीमित स्रोतहरू रहेको हुनाले स्वदेशी तथा विदेशी निजी क्षेत्रको सहभागिता अपरिहार्य छ ।

वैदेशिक पुँजी तथा प्रविधि भित्राई स्वदेशमै रोजगारी सिर्जना गर्ने, उत्पादन र उत्पादकत्व बढाउने तथा आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धन गर्नेतर्फ लगानीलाई केन्द्रित गर्नु पनि उत्तिकै आवश्यक छ,’– प्रधानमन्त्री प्रचण्डले भने ।

नेपालमा वैदेशिक लगानीको प्रतिवद्धता र लगानी प्राप्तिमा ठूलो अन्तर रहेको उनले बताए । यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा सम्बद्ध सबै निकायले गम्भीरतापूर्वक ध्यान दिन आवश्यक रहेको प्रचण्डले बताए ।

परियोजना विकास र कार्यान्वयन नेपालमा असाध्यै जटिल हुँदै गइरहेकोसमेत उनको भनाई छ । विशेषगरि परियोजनाको लागि जग्गा प्राप्ति, स्थानीयका मागका सम्बोधन जस्ता विषयहरूका कारण परियोजना समयमै सम्पन्न हुन नसकी परियोजनाको लागत बढ्ने क्रम बढेको उनले बताए ।  

साथै आज बसेको लगानी बोर्डको ५३औँ बैठकले विभिन्न पाँचवटा जलविद्युत् आयोजनाका लागि रु एक खर्ब ६७ अर्ब बराबरको लगानी स्वीकृत गरेको छ । आज स्वीकृत भएकामध्ये रु एक खर्ब ४६ अर्ब वैदेशिक र रु २१ अर्ब स्वदेशी लगानी हो ।

लगानी बोर्डको आजको बैठकले तल्लो अरुण जलविद्युत् परियोजनाको मात्रै रु ९२ अर्ब ६८ करोड लगानी स्वीकृत गरेको लगानी बोर्डको कार्यालयका प्रवक्ता अमृत लम्सालले जानकारी दिए । भारतीय कम्पनी सतलज जलविद्युत् निगमले बनाउन लागेको तल्लो अरुणमा परियोजना विकास सम्झौता ९पीडीए० गर्नका लागि दस्तावेज तयार पार्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समितिसमेत गठन गरिएको छ ।

बोर्डको आजको बैठकले एक सय दुई मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो मस्र्याङ्दी–१ परियोजनाका लागि रु ३३ अर्ब १९ करोड र ७० मेगावाट उत्पादन क्षमताको दूधकोशी–२ (जलेश्वर) जलविद्युत् परियोजनाका लागि रु २० अर्ब ३५ करोड बराबर लगानी स्वीकृत गरेको छ ।

त्यसैगरी, ७० दशमलव तीन मेगावाट उत्पादन क्षमताको सिम्बुवा खोला जलविद्युत् परियोजनाका लागि रु १३ अर्ब ४४ करोड र ४३ मेगावाट उत्पादन क्षमताको अप्पर मादीखोला जलविद्युत् आयोजनाका लागि रु सात अर्ब ९३ करोड बराबरको लगानी स्वीकृत भएको छ ।

बिहीबार ३० चैत २०७९ ०९:११ PM मा प्रकाशित

प्रतिक्रिया