काठमाण्डौको उत्तरी क्षेत्रमा मुहान भएका नदी तथा खोलामा पानीको सतह बढेको छ । अहिले काठमाण्डौको केही ठाउँमा ठूलो पानी परेकोले नदी तथा खोलामा पानीको सतह बढेको हो । विषेशगरी उत्तरी काठमाण्डौमा ठूलो पानी परिरहेको छ । पानीका कारण उपत्यकाका विष्णुमती, शेषमती, धोबीवीखोला मनोहरा लगायतका नदी तथा खोलामा पानीको सतह बढेको छ ।
पानीको सतह बढेपछि खोला किनारमा बसोबास गरेका बस्तीभित्र बाढीको जोखिम बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नदी किनारमा बसोवास गर्नेलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
यसैबीच अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती प्रदेश र प्रदेश नम्बर १ को आकाश पनि बादलले ढाकेको छ । स्थानीयरूपमा उत्पन्न भएको छुट्टाटुट्टै प्रणालीले बाग्मती प्रदेश र प्रदेश नम्बर १ को आकाश कालो भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । केहीबेर पानी परिसकेपछि भने बादल हट्ने उहाँले बताउनुभयो ।
यी दुई प्रदेशमा आज राति पनि पानी पर्ने सम्भावना छ । प्रदेश नं १, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक वा दुई ठाउँमा ठूलाे पानी पर्ने सम्भावना रहेको माैसमविद् मानन्धरले बताउनुभयो । पहाडी भू–भागमा भू–क्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको उहाँले बताउनुभयाे । नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।
प्रतिक्रिया