×

प्रधानमन्त्रीको राजीनामापछि श्रीलंकामा झन् चर्किदै सडक प्रदर्शन

images

काठमाडौं । आर्थिक संकटले ग्रस्त श्रीलंकामा प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिएका छन् । तर प्रधानमन्त्रीको राजीनामापछि पनि सडक प्रदर्शन झन् चर्किएको छ। सर्वसाधारणले प्रधानमन्त्री राजपाक्षेको निवासमा आगो लगाईदिएका छन् । सरकारका अन्य मन्त्रीहरुका निवासमा पनि आगजनी गरेका छन् । 

प्रधानमन्त्री निवासमा भीड ओइरिएपछि राजपाक्षे निवास भित्रबाट प्रदर्शनकारीमाथि गोली प्रहार गरिएको छ । घटनामा कम्तिमा २ जनाको ज्यान गएको छ भने १ सय ४० जना भन्दा बढी घाइते भएका छन् । राजधानी कोलम्बोमा भड्किएको प्रदर्शन र झडप नियन्त्रणका लागि सेना परिचालन गरिएको छ । 

एक साताभन्दा लामो समयदेखि भईरहेको सरकार विरोधी प्रदर्शनका कारण प्रधानमन्त्री राजपाक्षेले राजिनामा दिएका हुन् । प्रधानमन्त्री महिन्दा राजपाक्षेले ट्वीटरमार्फत आफूले राष्ट्रपति गोताबाय राजपाक्षे समक्ष राजिनामा बुझाएको जानकारी दिएका छन् । तर राष्ट्रपति कार्यालयले भने प्रधानमन्त्रीको राजिनामाका विषयमा कुनै प्रतिक्रिया दिएको छैन् । 

प्रदर्शन र झडप राजधानी बाहिर पनि फैलिएको छ। राजधानी बाहिर भएको झडपमा एक जना सांसदको पनि ज्यान गएको बताइएको छ। प्रदर्शनकारीले मन्त्रीहरु र राजपाक्षे दाजु-भाइको शासनका समर्थक अधिकारीहरुका घरमा पनि आगजनी गरिरहेका छन् । 

मङ्गलबार २७ बैशाख २०७९ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया