×

राष्ट्रपतिका लागि विश्वासको मत खोज्दै कांग्रेस

images

काठमाडौं । आगामी २५ फागुनमा हुने तय भएको राष्ट्रपति निर्वाचनमा आफ्नो तर्फबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको कांग्रेसले एकपछि अर्को गर्दै आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहेको छ ।

गत २६ पुसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेसले त्यसयता एकपछि अर्को गर्दै नेकपा माओवादी केन्द्रलाई विश्वासमा लिने प्रयास जारी राखेको हो ।

कांग्रेसले सोमबार भएको राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचनका लागिसमेत आफ्नो दलका तर्फकाट उम्मेदवार नउठाई माओवादी केन्द्रकै उम्मेदवारलाई घुमाउरो रूपमा समर्थन गरेसँगै राष्ट्रपतिका लागि कांग्रेसले थप वातावरण बनाएको हो ।

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिँदा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी हुन् ।

यसअघि कांग्रेसले मधेस प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादव र बागमती प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई पनि साथ दिइसकेको छ । यस्तै, प्रदेश १ मा कांग्रेसले उम्मेदवारी नदिएपछि माओवादी केन्द्रका बाबुराम गौतम सभामुखमा निर्विरोध निर्वाचित भएका थिए ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेसले राष्ट्रपतिका लागि उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति होस् भन्ने चाहेको बताए । ‘कांग्रेसले राष्ट्रपतिका लागि आफ्नो तर्फबाट उम्मेदवार उठाउने निर्णय गरिसकेको छ, प्रधानमन्त्रीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति गर्ने भन्नुभएको छ, कांग्रेस राष्ट्रपतिका लागि आफ्ना उम्मेदवारलाई राष्ट्रिय सहमति होस् भन्ने चाहन्छ,’ लेखकले भने ।

सोमबार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बीचमा समेत राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी गर्ने विषयमा छलफल भएको थियो ।

सो भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति आफ्नो चाहना रहेको भन्दै देउवा र ओलीलाई सहमतिको वातावरण बनाउनेतर्फ सहयोग गर्न आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेसले राष्ट्रपतिका लागि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये एक जनालाई अघि सार्ने सम्भावना छ । पौडेल प्रतिनिधिसभामा सांसद रहेको तर सिटौला सांसद नभएकाले सिटौलाको सम्भावना पौडेलको भन्दा बढी छ । सिटौलाले प्रधानमन्त्रीमा आफूलाई विश्वासको मत दिन कांग्रेसभित्र वातावरण बनाएको प्रचण्डको बुझाइसमेत छ ।

यस्तै, शान्ति प्रक्रियाको थालनी र अन्त्यसम्म पनि सिटौलाले माओवादीलाई तत्कालीन प्रधानमन्त्री र कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई साथ दिएर सहयोग गरेको पनि प्रचण्डले बताउने गरेका छन् । त्यससमय सिटौला नेपाल सरकारको गृहमन्त्रीको भूमिकामा समेत थिए ।

यस्तै, पौडेलले समेत प्रतिनिधिसभा निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन भन्दै दौडधुप गरेका थिए । राजधानी दैनिकबाट

बुधबार २५ माघ २०७९ ०८:३७ AM मा प्रकाशित

प्रतिक्रिया