काठमाडौं । जनकपुरधामको अन्तरगृह परिक्रमा गर्दै मिथिलाको १५ दिने माध्यमिकी परिक्रमा यात्रा मंगलबार सम्पन्न हुने भएको छ ।
धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट ८ फागुनदेखि विधिवत रुपमा सुरु भएको परिक्रमाको डोला सोमबार जनकपुरधाम आइपुगेको थियो । जनकपुरधामस्थित सुन्दरसदनबाट किशोरीको डोला तथा मिथिला बिहारीबाट मिथिला बिहारीको डोलासँगै हनुमानगढी हुँदै भारतको कल्याणेश्वर पुगेर परिक्रमा औपचारिक रुपमा सुरु भएको मानिन्छ ।
परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरुले सोमबार राति जनकपुरधाममा विश्राम गरेर मंगलबार बिहान पूजापाठ गरी अन्तरगृह परिक्रमा गरेपछि परिक्रमा समापन हुन्छ ।अन्तरगृह परिक्रमामा जनकपुरधामको करिब ५ कोस लामो क्षेत्रको परिक्रमा गरिन्छ । जसलाई पञ्चकोसी परिक्रमा पनि भनिन्छ । अन्तर गृह परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी नभएकाहरुले समेत सहभागिता जनाउने गर्दछन् । यो परिक्रमा गरेपछि मिथिलाञ्चल क्षेत्रमा होली सुरु भएको मानिन्छ । खास गरी अन्तरगृह परिक्रमा सम्पन्न भएपछि मात्रै जनकपुरधाममा होली मनाउने परम्परा बनेको छ ।
मिथिला महात्म्यमा उल्लेख भए अनुसार वृहत मध्यमा अन्तरगृह गरी तीन प्रकारको परिक्रमा हुन्छ । जसमध्ये मध्यमा अर्थात मिथिला माध्यमिकी परिक्रमाको आफ्नै विशेषता रहेको छ । प्राचीन समयमा सियालालजी शरण नाम गरेका सन्तले मनोवाञ्छित फल प्राप्त हुने विश्वासका साथ परिक्रमा सुरुवात गरेका थिए ।
नेपाल र भारत दुबै देशको धार्मिक, सांस्कृतिक एवं पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ वटा विश्रामस्थल छन् । परिक्रमामा सहभागी यात्रीहरुले नेपालका १ सय २ एवं भारतको २६ गरी १ सय २८ किलोमिटर पैदलयात्रा तय गर्दछन् । ठेराकचुरीबाट सुरु भइ पहिलो दिन जनकपुरधामको हनुमाननगर(हनुमानगढी) दोस्रोदिन भारतको कल्याणेश्वर र तेस्रो दिन गिरिजास्थानमा विश्राम गर्ने गरिन्छ ।
त्यसपछि मटिहानी, जलेश्वर, मडइ,ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोषर, औरही हुँदै पुनः भारतको विशौल हुँदै कल्याणेश्वर पुग्ने गर्दछ । त्यसपछि जनकपुरधाम आएर अन्तरगृह परिक्रमापछि मिथिला माध्यमिकी परिक्रमा समापन हुने गरेको छ ।
प्रतिक्रिया