×

'अर्ली इलेक्शन' को कुरा कुनै एजेन्डा, प्रस्तावको रूपमा आएकाे छैन : मन्त्री बडू

images

काठमाण्डाै ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अर्ली इलेक्शनको कुरा कुनै एजेन्डा वा प्रस्तावको रूपमा नआएको बताउनुभएकाे छ । आज आइतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री बडूले यस्ताे बताउनुभएकाे हाे । 

उहाँले भन्नुभयाे, ‘संसद् नचल्दाको अवस्थामा प्रयोजन के हो भन्ने प्रश्न उठेको बेला स्वाभाविक रूपमा यो एजेन्डा उठेको हो कि भन्ने लाग्छ । अर्ली इलेक्शनको कुरा मलाई लाग्छ कुनै एजेन्डा, प्रस्तावको रूपमा आएको पनि होइन । परिस्थितिको विश्लेषण गर्दा आएको विषय हो ।’

यस्तै मन्त्री बडूले प्रतिनिधि सभालाई पूर्ण कार्यकाल चलाउनुपर्ने बताउनुभएको छ । संसदलाई जनताप्रति जवाफदेही बनाएर पूर्ण कार्यकाल चलाउनुपर्ने उहाँले बताउनुभएको हो । संसदको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई आग्रह गरिरहेको उल्लेख गर्दै उहाँले त्याे आग्रहलाई एमालेले पनि गम्भीरतापूर्वक लिएको बताउनुभयो । सर्वोच्च अदालतले पनि संसद् पूर्ण कार्यकाल चलाउनुपर्ने फैसला गरेको उहाँले स्मरण गराउनुभयो । 

उहाँले भन्नुभयो – ‘दश, पन्ध्र मिनेट संसद् चलाएर बन्द गर्नुपर्ने अवस्था हो भने यसको प्रयोजन रहँदैन भन्ने प्रश्न जनताबाट पनि उठ्न सक्छ । त्यस कारण जनताप्रति जवाफदेही बनाउने ढङ्गले यसलाई सक्दाे चलायमान गर्नुपर्छ । त्यस कारण हामीले एमालेलाई आग्रह गरिरहेका छौँ र मलाई लाग्छ उसले पनि हाम्राे आग्रहलाई गम्भीरतापूर्वक लिएकाे छ । अब संसद् सञ्चालन हुन्छ, त्यस्तो अवस्था हो भने त संसद् पूर्णकालसम्म जानुपर्छ ।  सर्वोच्च अदालतको व्याख्या पनि संसद पूर्णकाल जानुपर्छ भन्ने छ नि त ।’

मन्त्री बडुले महाअभियोग सिफारिस समितिमा प्रतिपक्ष दल एमालेले नाम दिनु सकारात्मक भएको टिप्पणी गर्नुभयो । 

आइतबार​ २२ फागुन २०७८ ०६:०१ PM मा प्रकाशित

प्रतिक्रिया