×

श्रीलङ्कामा इन्धनको हाहाकार, सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प

images

श्रीलङ्काका ऊर्जा मन्त्री कञ्चना विजे सेकेराले देशमा इन्धन सकिएको बताएका छन् । उनले अब एक दिनका लागि मात्र इन्धनको सञ्चय रहेको बताएका छन् । मन्त्री विजे सेकेराले श्रीलङ्कामा पेट्रोल भण्डार झन्डै चार हजार टन रहेको र यसले एक दिनको माग पनि धान्न नसक्ने बताएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

देशमा आर्थिक सङ्कट थप जटिल बन्दै जाँदा सार्वजनिक यातायात इन्धन अभावका कारण ठप्प भएको छ । धेरैजसो पेट्रोल पम्पमा तेल छैन । तेलको खोजीमा राजधानीका धेरै ठाउँमा नागरिकको लामो लाइन लाग्ने गरेको छ । मन्त्री विजेसेकेराले पेट्रोल तथा डिजल जुलाई २२ र २३ तारिखअघि आइपुग्ने सम्भावना कम रहेको पनि बताएका छन् । 

तेलका लागि नियमित बाहेकका अन्य आपूर्तिकर्तासँग सम्पर्क गरेको तर जुलाई २२ तारिखअघि कुनै पनि नयाँ आपूर्तिले तेल पठाउने आश्वासन नदिएका उनको भनाइ छ । गत साता नगद अभावका कारण श्रीलङ्काले पेट्रोल र डिजल बचत गर्न आवश्यक सेवा बाहेक सबै क्षेत्रका लागि इन्धन बिक्री दुई हप्ता रोक्ने घोषणा गरेको थियो । 

विदेशी मुद्राको अभावले खराब आर्थिक सङ्कट बेहोरिरहेको श्रीलङ्काले अति आवश्यक समग्रीको आयातलाई समेत धान्न नसकेपछि त्यहाँका २ करोड २० लाख नागरिकको जनजीवन कष्टकर बनेको छ । 

सोमबार २० असार २०७९ ०४:३७ PM मा प्रकाशित

प्रतिक्रिया