नेपालमा विक्रमसंवत् वैशाख १ गते देखि आरम्भ भइ चल्दै आएको छ । तर यो संवत् कुन चाहीं सिद्धान्तको जग माथि उठेर आएको थियो त ? त्यो भने अहिले सम्म कसैले भन्न सकेको अवस्था देखिएको छैन । कोही भन्ने गर्छकि दक्षिण भारतमा यहाँको नेपालसंवत् जस्तै विक्रमसंवत् पनि कार्तिक शुक्ल प्रतिपदा देखि आरम्भ हुने गर्दछ । यसबाट पनि यो खुलासा हुन्छ कि विक्रमसंवत्को खास धरातल कार्तिकादि हो कि वैशाखादि हो छुट्टिंएन भन्ने बुझिन्छ ।
संवत् भने पछि संसारको जुनसुकै ठाउंमा गएपनि त्यसको परिचय एउटै प्रकृतिको पो हुनु आवश्यक छ । जस्तै इश्वींसंवत् जहाँसुकै गए पनि जनवरी १ तारिख बाट शुरु हुन्छ त्यस्तै नेपालसंवत् को कुरा गर्दा कार्तिक शुक्ल प्रतिपदा बाट शुरु हुन्छ । यसमा कहिल्यै हेरफेर भएको छैन । तर विक्रमसंवतको धरातल भने कहीं कार्तिक कहीं वैशाख हुनु भनेको धरातल स्पष्ट नभएको हो । सालसंवत् भने वैशाखादि र कार्तिकादिको एउटै हुनुपर्ने रहेको छ ।
वास्तवमा कार्तिकबाट शुरु हुने विक्रमसंवत् पनि २०८० साल वैशाखबाट शुरुहुने विक्रमसंवत् पनि २०८० कदापि संभव छैन । कार्तिकमा जन्मेको बच्चाको न्वारन र वैशाखमा जन्मेको बच्चाको न्वारन एकै दिन गरिंदैन । यो मात्र होइन कुनै पनि संस्कार प्रकृति मिलेको हुंदैन । कार्तिकमा जन्मेको बच्चाको नाम पनि राम वैशाखमा जन्मेको बच्चाको नाम पनि राम भनी एउटै हुन सक्छ तर उमेर महीना एउटै हुंदैन । तर यो कुरा बुझाइ रहनु पर्ने विषय होइन । तैपनि विक्रमसंवत्को विषयलाई लिएर यसको धरातल के हो यथार्थता राख्ने प्रयास गरिएको छ ।
भारतीय विद्वान पं गौरीशंकर हीराचंद ओझाको पुस्तक भारतीय प्राचीन लिपिमालामा विक्रमसंवत्को बारेमा बताइएका कुरा यस प्रकार छ।
१. विक्रमसंवत्को प्रारम्भ कलियुग संवत् को ३०४४ वर्ष बिते पछि भएको मानिन्छ ज । यसैको आधारमा यसको १ वर्ष भनेको कलियुगसंवत् ३०४५ को वरावर हुन्छ ।
२. विक्रमसंवत्मा ५७ र ५६ घटाइयो भने ईसवी सन् आउंछ र १३५ घटाइयोभने शकसंवत् आउंछ ।
३.उत्तरी हिंदुस्थानमा विक्रमसंवत् चैत्रशुकल १ देखि र दक्षिण हिंदुस्थानमा कार्तिक शुक्ल १ देखि प्रारम्भ हुन्छ ।
४. उत्तरी क्षेत्रमा विक्रमसंवत् पूर्णिमान्त अनुसार चल्छ भने दक्षिणमा अमान्त अनुसार चल्छ तर शुक्लपक्ष एउटा दुवैले एउटै लिएको छ । त्यसैले उत्तरी क्षेत्रको कृष्ण पक्ष दक्षिणकोभन्दा १ महीना अगाडि पर्छ ।
५. त्यसैलें उत्तरी हिन्दुस्थानका मान्छेले वैशाख कृष्ण भन्दै आएकोलाई दक्षिणका मान्छेले चैत्र कृष्ण भन्ने गरेको हो ।
(भारतीय प्राचीन लिपिमाला पृ.१६९)
भारतीय विद्वान प्रो. कृष्णदत्त वाजपेयी समेतको पुस्तक ऐतिहासिक भारतीय अभिलेखमा विक्रमसंवत्को बारेमा चर्चेको कुरा यसरी दिइएको छ ।
१ राजस्थानको नन्दसा यूप अभिलेखमा विक्रमसंवत् २८२लाई कृतसंवत्२८२ भनिएको छ । त्यस्तै विक्रमसंवत् ४८१ सम्मका अभिलेखमा कृतसंवत् भनिएको छ ।
२. मन्दसौरको अभिलेखमा विक्रमसंवत् ४६१ लाई कृतसंवत् र मालव संवत् दुवै भनिएको छ । साथै विक्रमसंवत् ९३६ सम्म नै मालवसंवत् भनिएको छ ।
३. बीजापुरको विदग्धराजको अभिलेखमा विक्रमसंवत् ९७३ लाई विक्रमकाल भनियो । वसन्तगढको पूर्णपालको अभिलेखमा विक्रमसंवत् १०९९ लाई विक्रमादित्य काल भनिएको कुरा चर्चेको छ भने कृत मालव विक्रम संवत्का प्रवर्तक शक पार्थियाइ शासक वोनोनस् ले इ.पू ५८ मा आफनो राज्याभिषेकको उपलक्षमा चलेको संवत् भनिएको छ ।
(ऐतिहासिक भारतीय अभिलेख, पृष्ठ २९ देखि ३१ सम्म )
सच्चिदानन्द भट्टाचार्यको भारतीय इतिहास कोश नामक पुस्तकमा विक्रमसंवत्को बारेमा गरिएको चर्चा यस प्रकार छ :-
इसा पूर्व ५८—५७ मा राजा विक्रमादित्यले चलाएको संवत् हो भनिएको छ । तर त्यतिवेला त्यो नाम भएको राजा कहीं शासन गरिरहेको थियो भन्ने संकेत भारत भरि कहीं कतै उल्लेख गरिएको छैन । अतः यो संवत्को सिद्धान्त पद्धति के हो कुनै प्रष्ट चित्र छैन ।
यसरी भारतीय विद्वानहरु कै बीच पनि विक्रमसंवत्को विषयमा एउटै धारणा देखिंदैन । कसैले विक्रमसंवत्मा ५७ व ५६ घटाए पछि इसवी संवत् आउंछ भन्छ भने कसैले इसापूर्व ५८ मा शुरु भएकोले ५८ र ५७ घटाउने भन्छ । यसरी उहाँहरु कै बीच पनि समान हिसाव छैन । नेपाल मै पनि इतिहास शिरोमणि बावुराम आचार्यंको भनाइ अंगिकार गरिइो भने ई.पू ५८ मा विक्रमसंवत् उठेको हुनाले उहाँ कै कुरा मान्नु पर्छ भन्नेहरु धेरै छन् ।
प्रणय पासाको विक्रमसंवत् नामक पुस्तकमा विक्रमसंवत् विक्रमादित्यले चलाएको होइन । ,मालवगणको प्रतिनिधित्व गरेर आउने कुनै विक्रम नाम गरेका व्यक्तिले शकहरुलाई लडाइंमा हराएर चलाएको संवत् भनेर उनै विक्रमलाई नै विक्रमादित्य भन्न पुगेको हो । साथै विक्रमसंवत्को यथार्थ सिद्धान्त के कस्तो हो ती कुरा उहाँले पनि खुलाउन सकेको छैन ।
भारतको भूमिमा विक्रमसंवत् कसरी कुन तरिकाले अघि बढीरहेको छ भन्दा पनि हाम्रो नेपालमा विक्रमसंवत् भित्रिएको कहिले र त्यसवेलाको बुझाइ के थियो अहिलेको संग किन ठिक दुरुस्त भएन?त्यस बारेमा चासो हुनु पर्ने जरुरी छ । भारतको भूमिमा चलेको भारतीय विक्रमसंवत् लाई नेपालमा नेपालीले संशोधन गर्न पाइने पनि होइन सकिंदैन पनि । नेपालमा नेपालीले विक्रमसंवत्को बारेमा अंगिकार गरेको गलत छ भने भारतले किन चासो लिन्छ ? भारतको विक्रमसंवत् भारतले नै संशोधन गरियो भने संभव होला । अतः यसमा नेपालले चासो चिन्ता लिने विषय होइन ।
काठमाडौं उपत्यका भित्र अहिले सम्ममा विक्रमसंवत् उल्लेख भएको पहिलो देखिएको अभिलेख विसं १४४४ को पाटन उकुवहीको तामापत्र अभिलेख हो । त्यसमा विक्रमसंवत्मात्र होइन कलिगत संवत्, शकसंवत् र नेपालसंवत् समेत उल्लेख छ । त्यसमा नेपालसंवत ५११, कलिराजवर्ष ४४९२ ,शकराजवर्ष १३१३ भनी उल्लेख भइरहेका छन् । यसमा शकराजवर्ष १३१३ भनिएतापनि त्यो शकसंवत् होइन । यहानिरँ विशेष ध्यानदिन जरुरी छ । किनभने यहाँ नेसं ५११ र १३१३ को बीच ८०२ वर्षको अन्तर स्पष्ट छ ।
नेपालसंवत् र शकसंवत्को बीच ८०० र ८०१ अन्तर बाहेक अरु हुंनुहुंदैन । किनकि नेपालसंवत् शुरु लिच्छविसंवत् ८०३, विक्रमसंवत् ९३६, इस्वी ८७९, शक ८०१ र कलिगत ३९८१ कार्तिक शुक्ल प्रतिपदामा भएको स्पष्ट धरातल बिर्सन मिल्दैन । यो धरातल हुंदा हुंदै यताउति भौंतारिनु पर्दैन । किनकि यी संवत् बीचको अन्तर यहीं ऐना जत्तिकै छर्लंग छ । यही रहेको अन्तरलाई नियालेर हेरियो भने पनि नेसं ५११ र १३१३ बीचको अन्तर ८०२ छ । नेपालसंवत् १ हुंदा लिच्छविसंवत् ८०३ भएकोले त्यहाँ पनि ८०२ कै अन्तर स्पष्ट पाइने गर्छ ।
तव त्यो अभिलेखमा शकराजवर्ष भनी १३१३ दिइएको वास्तवमा त्यो शकसंवत् होइन भन्ने स्पष्ट हुन्छ । यसप्रकारले नेसं ५११ हुंदा शक कति हुनुपर्ने र विक्रमसंवत् कति हुनुपर्ने स्पष्ट हुंदा हुंदै विक्रमराज वर्ष १४४४ र शकराजवर्ष १३१३ लेखिएको स्वतःसिद्ध बिसंगत छ भन्न सकिन्छ । त्यसकारण विक्रमसंवत् जुनवेला नेपालमा भित्रिन आए त्यहीवेला देखि नै गलतढंगले भित्रिएको रहेछ भन्ने सिद्ध हुन्छ ।
विक्रमसंवत् भित्रिए देखि नै विसंगति छन् भन्ने अनेकौं उदाहरण छन् अरु पनि केही नमुना यसप्रकार छन् । जस्तै
१ भपु दरवार भित्र सुनधारा चोकमा सुनधाराको अभिलेखमा नेसं ८०८ अंकित छ र त्यही सुनधारा माथिको पाटीमा पनि नेसं ८०८ अंकित नै छ । तर धारामा उत्कीर्ण अभिलेखमा विक्रमसंवत् १७४५ छ भने पाटीमा रहेको अभिलेखमा विक्रमसंवत् १७८९ दिइएको छ । यसरी एउटै नेपालसंवत् ८०८ मा विक्रमसंवत् फरकफरक छन् ।
२. भपु दरवार मालती चोकको नेसं ८१८ को अभिलेखमा कलिगत, विक्रम र शक संवत् उल्लेख छन् तर कलिगत ४७९९ विक्रम १७९९ श्रीशक १६२० उल्लेख भएका छन् । यसमा पनि नेसं ८१८ हुंदा शक कति , विक्रमसंवत् कति हुनु पर्दथ्यो भन्ने त्यतिवेला ज्ञात नभएको स्पष्ट बुझिन्छ । त्यसकारण विक्रमसंवत्मा विसंगति छ भन्ने सिद्ध हुन्छ ।
३.भपु क्वाथनुमठको शिलालेखमा नेसं ८८८ कार्तिक वदि १० मिति उल्लेख छ । यस शिलालेखमा शाकाव्द भनी १६९० विक्रमाव्द भनी १८२५ र कलिगताव्द भनी ४८६९ दिइएको छ । यतिवेला पनि नेसं ८८८ कार्तिकमा विक्रमसंवत् कति, शकसंवत् कति हुनु पर्ने थियो भन्ने ज्ञात नभएको सिद्ध हुन्छ ।
नेसं ८८८ कार्तिकमा विक्रमसंवत् १८२५ कुनै हालत संभव होइन । यी दुइ संवत् बीच कार्तिकमै ९३७ को अन्तर देखाइयो र यही नै विसंगति भयो भन्न सकिन्छ । ने.सं ८८८ भाद्रशुक्ल चतुर्दशीलाई संझन मिल्छ । किनकि कान्तिपुरका राजा जयप्रकाश मल्लले आफनो राजपात सवै त्याग्नु परेको थियो । त्यो दिन इसवीसन् कथं १७६८ लेख्ने गरेको इतिहासका पाना पल्टाएर हेर्न सकिन्छ ।
बेलायतंमा १७५१ मा यसलाई संशोधन गरी त्यसैलाई १७५२ गरी दिंदा १७६७ हुन आउनुपर्ने लाई १७६८ हुन आउने गरियो । किनकि नेपालसंवत् शुरु हुंदा इस्वी ८७९ भएको हुनाले नेसं ८८८ कार्तिक भनेको १७६७ मात्र हो । किनकि १७५१ मा १ वर्ष घचेटेर १७५२ बनाए देखि १७६८ हुन आएको हो । त्यस्तै नेपालसंवत् शुरु हुंदा विक्रमसंवत् ९३६ कार्तिक भएको नेसं ८८८ हुंदा १८२३ हुने र वैशाख देखि १८२४ हुनु पर्ने मा कार्तिक मै १८२५ गरियो यो अत्यन्तै विसंगति हो ।
जसरी इस्वीमा १७५१ मा १ वर्ष घचेटेर १७५२ बनाए देखि १७६७ पनि १७६८ हुन आएको हो । यहाँ विक्रमसंवत्लाई पनि घचेटेर १८२५ बनाइनुको तात्पर्य विक्रमसंवत् र इस्वीसंवत् बीच ५६ व ५७ अन्तरलाई समाएर इस्वी १७६८ मा ५७ फरक हुने गरि विक्रमसंवत्लाई १८२५ गर्न ल्याएको छ । यसको मतलव विक्रमसंवत् खालि विसंगति नै विसंगतको परिणामबाट उव्जेको संवत् भन्न सकिन्छ ।
शुरुमा विक्रमसंवत् नेपालमा हुल्न थाल्दा विक्रमसंवत् र नेपालसंवत् बीचको अन्तर केवल ९३३ देखाइयो पछि कुनै वेला ९३६ र कुनैवेला ९३७ देखाइयो त कुनै वेला ९८१ सम्मपनि अन्तर देखाइयो । कुनैवेला त एउटै वर्षमा ९३७ पनि देखाउने ९८१ पनि देखाउने विसंगति पूर्ण तवरले उल्लेख गर्दै ल्याए । पछि इस्वीसनमा संशोधन गरिए पछि ५६ र ५७ को अन्तर हुने सूत्र समाएर १८२३ बाट १८२४ मात्र हुने नभइ छलाङ् मारेर १८२५ पनि गर्ने गरिएका उदाहरणहरु प्रशस्त देखिए पछि विक्रमसंवत् नेपालमा नियमित ढंगले निरन्तर चल्दै आएको संवत् होइन भन्ने छर्लङ्ग हुन आएको छ ।
विक्रमसंवत्लाई राष्ट्रिय संवत्को रुपमा व्यवहार गराउने महाराज चन्द्रसमसेरं थिए । उनले वि.सं१९६१ देखि गतेको प्रचलन ल्याएर राष्ट्रियसंवत्को रुपमा व्यवहारोपयोगी बनाए भन्ने यहाँ सुन्दै बोल्दै आएको देखिन्छ । तर स्वयं चन्द्र समसेरलाई नै विक्रमसंवत् बारे खास ज्ञान रहेको देखिएन । किनकि विसं १९६१ मा गते प्रयोग गर्ने तर उनले राखेको विसं १९६९ को अभिलेखमा गतेको प्रयोग गरेनन् । त्यतिमात्र पनि होइन नेपालसंवत् १०३२ लाई नेपालीसंवत् त भनियो कार्तिक शुक्ल कुष्माण्ड नवमीमा विसं १९६९ भनी दिइयो । यसप्रकार कार्तिक मै ९३७ को अन्तर देखाउनु विसंगति हो भन्न सकिन्छ । यो कुरा पशुपति क्षेत्र देउपाटन ग्वल नवालीटोलको सुनधाराको अभिलेखमा प्रष्ट दिइएको छ ।
यी समग्र तथ्यहरुलाई मध्य नजर गरी हेर्दा शुरुमा विक्रमसंवत्को जन्म शकसंवत्मा १३५ जोडियो भने विक्रमसंवत् आउंछ भन्ने सूत्रले जन्माएको देखियो । तर त्यो सूत्रले साँच्चैको शकसंवत कुन चाही हो र लिच्छविकालमा चलेको लिच्छविसंवत् नै शकसंवत् होकि भनी त्यो चिन्न नसकेर अन्यौल भएको देखियो । त्यसपछि त्योसूत्रको नजरले साँच्चैको शकसंवत्लाई छोडेर लिच्छविसंवत्लाई नै शकसंवत् संझेर त्यसको गर्भमा १३५ हालेर जन्माएको संवत् नै नेपालमा चलेको विक्रमसंवत् हो ।
त्यसकारण यो विक्रमसंवत्को अनुहार न वाउ संग मिल्छ न आमासंग मिल्छ भने झैं कुनैपनि संवत् संग न सिद्धान्त मेल खान्छ न धरातलले मेल खान्छ भन्ने भएको हो । त्यसैले यो संवत्को छेउ टुप्पो के हो कसैले चिन्दैन । त्यही भएर अलिकति छेउ टुप्पो मिलाउन इस्वीसंवत् संग ५६ । ५७ को अन्तर संग मिलाउन संशोधन गरि मिलाइएको इस्वी संवत्मा ५६ । ५७ जोडेर छेउटुप्पो नभएको विक्रमसंवत १८२४ लाई १८२५ बनाइयो । तर यतिले पनि कही कतै तालमेल मिलेको छैन ।
यही विक्रमसंवत्लाई सन्मान गरेर महाराज चन्द्रसमसेरले राष्ट्रियसंवत्को दर्जा दिए तर स्वयं चन्द्रसमसेर महाराजले विक्रमसंवत्को चिनारी के हो थाहा नपाएको दृष्टान्त माथि चर्चा गरियो । त्यसकारण विक्रमसंवत्लाई विस्थापन गराई नेपालसंवत् नै साविक ढंगले लिच्छविकाल देखि जसरी चल्दै आएको हो त्यसरी व्यवहार गर्न जरुरी छ । यसैबाट नेपालको पहिचान पुनस्थापना हुनसक्छ भन्ने अटल विश्वास रही आएको छ ।
प्रतिक्रिया